सातै प्रदेशमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

सातै प्रदेशमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनको न्यून चापीय रेखा तराई क्षेत्रमा अवस्थित हुँदा देशभर मनसुन फेरि सक्रिय भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा वर्षा हुने र केही ठाउँमा भारीदेखि मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ भने मधेस प्रदेश, कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ।

यी प्रदेशका एक-दुई स्थानमा मुसलधारे वर्षाको समेत पूर्वानुमान गरिएको छ। त्यसैगरी, कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मौसम पूर्णतया बदली हुनेछ भने देशका अन्य भागमा सामान्यतया बदली रहनेछ।

राति विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ। यसका साथै, लुम्बिनी प्रदेशका तराई क्षेत्र र गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सक्रिय मनसुनका कारण देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम उच्च रहेको छ। लगातारको वर्षाले ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र बाढीको खतरा रहने महाशाखाले चेतावनी दिएको छ। यसले गर्दा सडक तथा हवाई यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ।

महाशाखाले सर्वसाधारणलाई सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विशेष अनुरोध गरेको छ।

साउन २८, २०८२ बुधबार ०७:१५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।