गुठी जग्गा विवादमा बार जिल्ला अध्यक्षको टोलीले पत्रकार महासङ्घ प्रदेशका पदाधिकारी कुटेको दाबी

गुठी जग्गा विवादमा बार जिल्ला अध्यक्षको टोलीले पत्रकार महासङ्घ प्रदेशका पदाधिकारी कुटेको दाबी

काठमाडौं : जनकपुरधाम उपमहानगरपालिकामा  श्रीराम मन्दिर गुठीको चार कट्ठा जग्गाको विवादमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश र नेपाल बार एसोसिएसन धनुषा कमिटी बिचको विवादमा कुटाकुट भएको छ।

गुठी संस्थानले चार कट्ठा जग्गा २० वर्षका लागि महासङ्घको प्रदेशका लागि दिएको थियो। प्रदेशले सो जग्गामा भवन बनाउन तारबार लगाएको थियो।

मंगलबार बार एसोसिएसनको जिल्ला कमिटीका अध्यक्षको नेतृत्वमा गएको टोलीले तारबार हटाएर महासङ्घ प्रदेशका पदाधिकारीलाई कुटपिट गरेको महासङ्घ केन्द्रका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'उक्त जग्गा महासंघ प्रदेश समितिले २० वर्षका लागि लिजमा लिएकोमा नेपाल बार एसोसिएसन धनुषाले आफ्‌नो हक लाग्ने भन्दै जग्गा कब्जाको प्रयास गर्न खोज्नु शोभनीय विषय होइन' विज्ञप्तिमा उल्लेख छ।

प्रदेश समितिले जग्गा संरक्षण गर्न तारले घेराबार गरिरहेका बेला साउन २७ गते बारका जिल्ला अध्यक्ष विमल मिश्र नेतृत्वको एक समूहले महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, विनीता यादव लगायतलाई आक्रमण गरेको महासङ्घको दाबी छ।

कुटपिटबाट मधेस प्रदेशका महासचिव क्रान्तिको खुट्टा भाँच्चिएको र  पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको दाहालले बताए।

'अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौ त्यही हुन्छ' भन्दै पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप रहेको भन्दै विज्ञप्तिमा पत्रकारमाथि आक्रमणमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही, घाइते पत्रकारको उपचारको माग गरेको छ।

साउन २७, २०८२ मंगलबार २२:५५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।