जापानको सेयर बजारमा उछाल, १३ महिनाकै उच्च विन्दुमा पुग्यो

जापानको सेयर बजारमा उछाल, १३ महिनाकै उच्च विन्दुमा पुग्यो

एजेन्सी : अमेरिकाबाट जापानले कर (ट्यारिफ) सम्बन्धी विशेष छुट पाएको पुष्टि भएलगत्तै आज टोकियोको सेयर बजारमा उल्लेखनीय उछाल देखियो। अमेरिकी बजारमा आएको सुधार, जापानी कम्पनीहरूको उत्कृष्ट आर्थिक नतिजा र लगानीकर्ताको बढ्दो विश्वासले बजारमा थप उत्साह भरेको छ।

प्रमुख सूचकांक ‘निक्केई २२५’ आज ८९७.६९ अंक (२.१५%) बढेर ४२,७१८.१७ मा पुगेको छ, जुन पछिल्ला १३ महिनाको सबैभन्दा उच्च स्तर हो। ‘निक्केई २२५’ भन्नाले टोकियो स्टक एक्सचेन्जमा सूचीकृत २२५ ठूला र प्रभावशाली कम्पनीहरूको सेयर मूल्यको औसतबाट गणना हुने जापानको प्रमुख सेयर बजार सूचकांक जनाइन्छ। यसलाई जापानी आर्थिक समाचार संस्था ‘निहोन केइजाई शिम्बुन’ले प्रकाशन र व्यवस्थापन गर्छ। यो जापानको समग्र सेयर बजार र अर्थतन्त्रको स्वास्थ्य बुझाउने महत्वपूर्ण सूचक हो।

आजको बजारमा विशेष महसुल छुटको पुष्टि, सशक्त कर्पोरेट नतिजा र विदेशी छोटो अवधिका लगानीकर्ताको सक्रियता मुख्य कारण बने। साथै, डलरसँगको तुलनामा येनको विनिमय दर करिब १४८ मा झरेपछि निर्यातमुखी कम्पनीहरूको सेयरमा विशेष सुधार आएको छ।

टोकियो स्टक एक्सचेन्जको टोपिक्स सूचकांक पनि ४२.१६ अंक (१.३९%) बढेर ३,०६६.३७ मा बन्द भएको छ, जुन लगातार दोस्रो दिनको कीर्तिमानी बन्द हो। आज प्राइम बजारमा ९६४ कम्पनीका सेयर बढे, ६०० कम्पनीका घटे र ५९ कम्पनी अपरिवर्तित रहे।

साउन २७, २०८२ मंगलबार २२:१७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।