ओलम्पिक कमिटी विवादमा नयाँ ट्विस्ट, ध्रुबबहादुरको संयोजकत्वमा तदर्थ समिति

काठमाडौं : नेपाल ओलम्पिक कमिटीको २७ मध्ये २२ खेल संघको पदाधिकारीको भेलाले जीवनराम श्रेष्ठको नेतृत्वको कमिटी भंग गर्दै तदर्थ समिति गठनको घोषणा गरेका छन्।
मंगलबार कमिटीकै लेटरप्याडमा प्रकाशित विज्ञप्तीमा कमिटीका निवर्तमान अध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा तदर्थ समिति गठन गरेको उल्लेख छ। विज्ञप्तीमा २३ खेलसँगको अध्यक्ष र महासचिवसहितको भेलाले निर्णय गरेको उल्लेख छ।
तदर्थ समितिको प्रवक्ताको रूपमा समिम मियाँ अन्सारीले जारी गरेको विज्ञप्तीमा आगामी दिनहरूमा आयोजना हुने ओलम्पिक कार्यक्रम अन्तर्गतका वृहत खेलकुद प्रतियोगिताहरूमा नेपालको सहभागितालाई निधो गरी खेलाडीहरूको खेल्न पाउने अधिकार र भविष्यलाई सुनिश्चित गर्न हाल नेतृत्व विहीन अवस्थामा रहेको नेपाल ओलम्पिक कमिटी भित्र उत्पन्न समस्याहरूको दिगो समाधान गरी, नेपालको ओलम्पिक गतिविधिलाई संस्थागत रूपमा अघि बढाई राष्ट्रिय खेल संघ तथा महासंघहरूको अन्तर्राष्ट्रिय क्रियाकलापहरूलाई निरन्तरता दिन २०८२ श्रावण २६ गते द नेपाल कमिटीमा आबद्ध जम्मा २३ वटा खेल संघहरूका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले नेपाल ओलम्पिक कमिटीका निवर्तमान तथा मानार्थ अध्यक्ष प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको उल्लेख छ।
कमिटीको अध्यक्ष दुई कार्यकाल मात्र गर्न पाउने विधानमा प्रावधान भए पनि एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले विधान संशोधन गर्दै कार्यकाल थपेर निर्वाचन गराउने प्रयास गरेका थिए।
सरकार र अदालतबाट समेत निर्वाचन नगराउन आदेश आए पनि उनले अनलाइनबाट जबर्जस्ती निर्वाचन गराएर आफ्नै नेतृत्वमा नयाँ कार्यसमिति गठन गराएका थिए। नयाँ कार्यसमितिलाई खेलकुद मन्त्रालयले मान्यता दिएको छैन। तर उनले आफू वैध रहेको दाबी गर्दै आएका छन्। यसबारे अन्तराष्ट्रिय ओलम्पिक कमिटीले समेत चासो राख्दै आएको थियो।
ओलम्पिक कमिटीमा विवाद नयाँ हैन। रुक्मशमशेर राणाको पालादेखि नै विवाद जारी छ। प्रधान हुँदै जीवनराममा नेतृत्व आएपछि पनि विवाद सुल्झिएको छैन।
तीन महिनामा निर्वाचन
तदर्थ समितिका प्रवक्ता मियाँले २७ र एक नयाँ खेल संघसहित २८ संघमध्ये २३ संघको अध्यक्ष, महासचिव र पदाधिकारीको भेलाले तदर्थ समिति गठन गरेर कमिटीमा वैध कार्यसमिति गठन गर्ने तयारी गरेको दाबी गरे। तदर्थ समितिले तीन महिनाभित्र निर्वाचन गरेर नयाँ कार्यसमिति बनाउने उनले उकेरालाई बताए।
‘अदालतको आदेश हुँदाहुँदै जबरजस्ती निर्वाचन गर्दा कमिटी नेतृत्वविहीन बन्यो। खेल गतिविधि र अन्तर्राष्ट्रिय प्रतिनिधित्व नै संकटमा परेपछि तदर्थ समिति गठन गरेका हौँ,’ उनले भने। अब समितिले तीन महिनाभित्र कमिटीको निर्वाचन गरेर वैध कमिटी गठन गर्छ।’ यसबारे जीवनरामसँग प्रतिक्रिया लिने प्रयास सफल भएन।
साउन २७, २०८२ मंगलबार २१:०९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।