रोजगारदातालाई जिम्मेवार बनाउन पेशाका शिलशिलामा हुने रोगलाई ‘व्यवसायजन्य रोग’का रुपमा कानुनी मान्यता

काठमाडौं : सरकारले पेशाको शिलशिलामा हुनसक्ने ‘व्यवसायजन्य रोग’को सूची तोकेको छ। सरकारले २०८२ साउन २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै पेशाका शिलशिलामा हुनेसक्ने ‘व्यवसायजन्य रोग’का रुपमा कानुनी रुपमा मान्यता दिएको हो।
श्रम नियमावली, २०७५ को नियम-५२ को उपनियम ‘१’ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर व्यवसायजन्य रोगको सूची तोक्ने व्यवस्था छ। सरकारले सोही व्यवस्था अनुसार राजपत्रमा व्यवसायजन्य रोगको सूची प्रकाशित गरेको हो।
सरकारको यो निर्णयसँगै कामको शिलशिलामा कार्यस्थलमा हुने धुलो, धुवाँ, विभिन्न रसायनीक तत्व र कामको प्रकृतिको वातावरण लगायतको समस्याका कारण श्रमिकको स्वास्थ्यमा कुनै समस्या भए उसले उपचार लगायतको सुविधा पाउने छन्। सरकारले गरेको यो निर्णयले श्रमिकको स्वास्थ्य सुरक्षाको अधिकारलाई व्यवस्थित गर्नुका साथै रोजगारदातालाई पनि काम गर्ने स्थल सुरक्षित बनाउन कानुनी रुपमा जिम्मेवार बनाउने विश्वास लिइएको छ।
श्रमिकलाई व्यवसायजन्य रोग लागेको ठहरिएको खण्डमा त्यस्तो श्रमिकलाई रोजगारदाताले दिनुपर्ने उपचार खर्च र क्षतिपूर्तिको रकम निर्धारण गर्ने तथा त्यस्तो रकम उपलब्ध गराउने सम्बन्धी व्यवस्था (श्रम)मन्त्रालयले तोकेबमोजिम हुने कानुनी व्यवस्था छ।
श्रम ऐन, २०७४ को को दफा–८२ मा ‘कुनै प्रतिष्ठानको काम गर्दा कुनै श्रमिकलाई तोकिए बमोजिमको कुनै व्यवसायजन्य रोग लागेमा सो प्रतिष्ठानले त्यस्तो रोगको उपचारको लागि तोकिए बमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनुपर्ने’ उल्लेख छ।
सरकारले कामको शिलशिलामा हुनसक्ने विभिन्न रोगलाई व्यवसायजन्य रोगको श्रेणीका रुपमा विभाजन गरेको छ।
कामको शिलशिलामा क्रोमियम, मक्र्युरी, लिड, बेन्जिन, अल्कोहल, ग्लाइकोल, कार्वन मोनोअक्साइड, हाइड्रोजन सल्फाइड, फर्मास्युटिकल एजेन्ट, जिंक, सल्फर अक्साइड, अर्गानिक सोल्भेन्ट्स र क्लोरिनको जस्ता रासायनिक ‘एजेन्ट’का कारणले हुने रोगलाई व्यवसायजन्य रोगको रुपमा छुट्याइएको छ।
उच्च ध्वनीका कारण श्रवण शक्तिमा ह्रास, विकिरण, अत्यधिक तापक्रमका जस्ता कारण हुने रोगलाई भौतिक एजेन्टका कारण हुने व्यवसायजन्य रोगका रुपमा छुट्याइएको छ।
बु्रसेलोसिस, हेपाटाइटिस भाइरस, एचआइभी, टिटनस, क्षयरोग, एन्थ्रेक्स, लेप्टोस्यापरोसिसजस्ता व्यवसायजन्य रोगहरुलाई जैविक एजेन्टका कारण हुने संक्रामक रोगका रुपमा छुट्याइएको छ।
निमोकोनियोसिस, सिलिको क्षयरोग, न्यूमोकोनिओसिस, साइडरोसिस, कडा मेटलको धुलोबाट हुने ब्रोन्कोपल्मोनरी रोग, उखुको धुलोका कारण हुने ब्रोन्कोपल्मोनरी रोग, पल्मोनरीजस्ता रोगलाई श्वासप्रश्वास सम्बन्धी व्यवसायजन्य रोगका रुपमा वर्गिकरण गरिएको छ।
एलर्जी, डर्माटाइटिस जस्ता छालासम्बन्धी व्यवसायजन्य रोगका रुपमा वर्गिकरण गरिएको छ। रेडियल स्टाइलोइड टेनोसिनोभाइटिस, हात र नाडीको दीर्घकालिन टेनोसिनोभाइटिस, ओलेक्रानन बर्साइटिस, एपिकोन्डिलाइटिस, मेनिस्कस लिजन्स, कार्पल टनेल सिन्ड्रोम जस्ता रोगलाई मांशपेशिगत विकार व्यवसायजन्य रोगका रुपमा वर्गिकरण गरिएको छ।
आघातपछिको तनाव विकारलाई मानसिक तथा व्यवहारिक विकारको व्यवसायजन्य रोगका रुपमा छुट्याइएको छ।
एस्बेस्टोस, क्रोमियम, कम्पाउन्ड, कोइला टार्स, कोइला टार पिच, बेन्जिन, आयनीकरण विकिरण, बिटुमेन, खनिज तेल, अवशेष, काठको धुलो, आर्सेनिक, क्याडमियम, हेपाटाइटिस बी र सी भाइरसजस्ता कारणले हुने रोगलाई व्यवसायजन्य क्यान्सर रोगको रुपमा वर्गीकरण गरिएको छ।
साउन २७, २०८२ मंगलबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।