ललिता निवास प्रकरणमा तत्कालीन अख्तियार प्रमुख आयुक्त उपाध्यायको संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं : ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने प्रक्रियामा तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संलग्नता रहेको भन्दै छानबिनको मागसहित अख्तियारमा उजुरी दर्ता भएको छ।
मंगलबार दर्ता भएको उजुरीमा ललिता निवासको १४३ रोपनी जग्गा निजी स्वामित्वमा पर्न दिने निर्णयमा उपाध्यायको प्रत्यक्ष भूमिका रहेको दाबी गरिएको छ। उजुरीकर्ताले विभिन्न मितिमा भएका निर्णय तथा प्रमाण पेश गर्दै उपाध्यायलाई यस प्रकरणका प्रमुख दोषीमध्ये एक ठहर गर्न माग गरेका छन्।
‘२०५९ मंसिर २६ गते अख्तियारकै उजुरी छानबिन महाशाखाले बालुवाटारको जग्गा निजी नाममा गएको विषयमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। तर २०६० असार १८ गते उपाध्यायले प्रमुख आयुक्तको हैसियतमा उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरेपछि जग्गा सरकारी नभई निजी हो भन्ने कानूनी आधार तयार भएको आरोप लगाइएको छ,’ उजुरीमा भनिएको छ।
उजुरी दर्ता गर्ने नयाँ बानेश्वरका हरिबहादुर कार्कीले उपाध्यायलाई उन्मुक्ति दिँदा किनबेचमा संलग्नलाई मात्र कारबाही गर्नु अन्याय हुने भन्दै तत्काल छानबिनको माग गरेका छन्।
‘२०७६ माघ २२ मा विशेष अदालतले सुनाएको फैसलाले पनि यसमा भ्रष्टाचार भएको पुष्टि भइसकेको छ। तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको निर्णय खण्डित भएको छ। त्यसका आधार पनि उनलाई कारबाही गर्नुपर्ने होइन र ?,’ उजुरीमा भनिएको छ।
विशेष अदालतले २०७६ माघ २२ गते ललिता निवास प्रकरणमा भ्रष्टाचार भएको ठहर गरिसकेको छ। सो क्रममा योजनाकार शोभाकान्त ढकाल लगायतले उपाध्यायलाई पटक-पटक भेटेको प्रमाण पनि रहेको उजुरीमा उल्लेख छ।
साउन २७, २०८२ मंगलबार १९:४१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।