युवाहरूलाई आरजुको सुझाव- जीवनमा नकारात्मकता फैलाउने काममा कहिल्यै नलाग्नुहोस्

युवाहरूलाई आरजुको सुझाव- जीवनमा नकारात्मकता फैलाउने काममा कहिल्यै नलाग्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशका युवाहरूलाई सबैभन्दा ठूलो पुँजीको रूपमा पहिचान गर्दै उनीहरूको ऊर्जा, समय र क्षमतालाई देश विकासमा लगाउनुपर्नेमा बताएकी छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युथ फाउन्डेसनले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राणाले समृद्ध नेपाल निर्माणको आधार नै युवा शक्ति भएकाले मुलुकको भविष्य निर्माणमा उनीहरूको योगदान निर्णायक हुने बताइन।

नेपालको जनसंख्याको ठूलो हिस्सा युवामा रहेको उल्लेख गर्दै उनले भनिन्, ‘म युवाहरू विदेश जानु हुँदैन भन्ने पक्षमा छैन, तर विदेश गएर ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुपर्छ। हाम्रै माटोलाई समृद्ध बनाउन सबै मिलेर देशको विकासमा लाग्नुपर्छ।’ 

उनका अनुसार स्वदेश फर्केका कैयौँ युवाहरूले विदेशमा आर्जन गरेको पुँजी र अनुभव प्रयोग गरेर उद्यमशीलता अघि बढाएका छन्, जसमा सरकारले सधैं साथ र सहयोग गर्नेछ।

प्रविधि, शिक्षा, खेलकुद, उद्यमलगायत क्षेत्रमा नेपाली युवाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै क्षमता प्रदर्शन गरिरहेको उल्लेख गर्दै मन्त्री राणाले “परिश्रमी र इमान्दार नेपाली” भन्ने पहिचानलाई पनि पुँजीका रूपमा लिनुपर्ने धारणा राखे।

युवाहरूलाई सकारात्मक सोच राख्न, औपचारिक शिक्षा पछि जीवनोपयोगी सीप सिकेर दक्ष बन्न र सामाजिक सञ्जालको प्रयोग ज्ञान तथा सीपको दायरा बढाउनेतर्फ गर्न सुझाव दिँदै उनले भने, ‘टिकटक जस्ता माध्यममा नकारात्मकता फैलाउने कार्यमा लाग्नु हुँदैन, यसले तपाईंको जीवनमा कुनै सकारात्मक ऊर्जा दिँदैन।’ 

सो अवसरमा नेपाल युथ फाउन्डेसनले विगत लामो समयदेखि विपन्न र अवसरविहीन बालबालिका तथा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र व्यावसायिक सीप विकासमा योगदान गर्दै आएको जानकारी गराइएको थियो।

साउन २७, २०८२ मंगलबार १९:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।