डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

काठमाडौं : चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नै प्रिमियम इलेक्ट्रिक भेहिकल (ईभी) ब्रान्ड ‘भोया अटोमोबाइल’ मा ठूलाे लगानी गर्ने घोषणा गरेको छ। यो लगानी कम्पनीको स्वच्छ र स्मार्ट यातायात प्रवर्द्धन गर्ने प्रतिबद्धताको भागका रूपमा गरिएको हो।

डोङफेङ र भोया बीच भएको पुँजी वृद्धि सम्झौताअनुसार डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्टले करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ। यसले भोयाको गाडी उत्पादन, प्रविधि सुधार र बजार प्रतिस्पर्धात्मकता बढाउन मद्दत गर्नेछ।

लगानीपछि भोयाको स्वामित्व संरचना परिवर्तन हुनेछ। डोङफेङ मोटर ग्रुपको स्वामित्व ७९.६९ प्रतिशत पुग्नेछ, डीएफएएमको ३.३० प्रतिशत हुनेछ र बाँकी १७.०१ प्रतिशत अन्य सेयरधनीको हुनेछ। यसरी डोङफेङले कम्पनीमाथि आफ्नो नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास अघि बढाउनेछ।

भोया, डोङफेङको प्रिमियम ईभी ब्रान्ड हो, जसले स्मार्ट र वातावरणमैत्री सवारी साधन बजारमा ल्याउँदै आएको छ। विश्वभर इलेक्ट्रिक गाडीको माग तीव्र रूपमा बढ्दै जाँदा, भोयालाई डोङफेङको भविष्य योजनामा महत्वपूर्ण स्थान दिइएको छ।

नयाँ पूँजी अनुसन्धान तथा विकास, उत्पादन क्षमता वृद्धि, गाडीको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारमा प्रयोग गरिनेछ। यसले भोयालाई अन्य ठूला ईभी ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न थप बलियो बनाउने निगमको विश्वास छ।

डोङफेङका लागि यो लगानी नाफा मात्र होइन, दीर्घकालीन रूपमा हरित र स्मार्ट यातायात प्रणालीमा नेतृत्व गर्ने दिशामा उठाइएको कदम पनि हो। कम्पनीले भविष्यको ‘ग्रीन मोबिलिटी’ र स्मार्ट यातायात प्रणालीतर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ।

वैश्विक अटोमोबाइल उद्योगमा द्रुतगति परिवर्तन भइरहेका बेला, वातावरणमैत्री गाडीको रोजाइ बढ्दै गएको र विभिन्न मुलुकका नीति-नियमहरूले पनि यसलाई समर्थन गरिरहेको पृष्ठभूमिमा गरिएको यो लगानी, डोङफेङलाई आगामी गाडी बजारमा अझ मजबुत बनाउन सहयोग पुर्याउने कम्पनीको विश्वास छ।

यससँगै कम्पनीले उपभोक्ताले निकट भविष्यमै अझ स्मार्ट, भरपर्दो र वातावरणमैत्री सवारी साधनको अनुभव पाउने अपेक्षा गर्न सक्ने बताएको छ।

साउन २७, २०८२ मंगलबार १८:४५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।