‘कामदार अलपत्र पारेर अध्यक्ष लिन जहाज हङकङ’ भन्ने समाचार आधारहीन रहेको वायुसेवा निगमको दाबी

काठमाडौं : नेपाल वायुसेवा निगमले केही सञ्चार माध्यममा प्रकाशित ‘कामदार अलपत्र पारेर अध्यक्ष लिन जहाज हङकङ’ भन्ने समाचारलाई आधारहीन, भ्रामक र दुष्प्रचारपूर्ण भन्दै खण्डन गरेको छ।
मंगलबार जारी विज्ञप्तिमा निगमले नियमित उडान तालिकाअनुसार हङकङ उडान भएको भए पनि त्यसलाई विषयान्तर गरी गलत ढंगले प्रस्तुत गरिएकोमा दुःख प्रकट गरेको छ।
निगमका अनुसार एउटा जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं-दम्माम सेक्टरको उडान रद्द गरिएको थियो। होल्ड भएका यात्रुलाई निगमकै खर्चमा बासको सुविधा दिइएको र अर्को दिन वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइएको निगमले जनाएको छ।
उक्त दिनको हङकङ उडानमा कार्यकारी अध्यक्ष युबराज अधिकारी, मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल र वरिष्ठ पाइलट विजय लामाको संयोगवश उपस्थितिमात्र परेको निगमले स्पष्ट पारेको छ। निगमका अनुसार यो भ्रमण एक महिना अगाडि नै स्वीकृत भएको योजना हो, जसको उद्देश्य उडान सेवा विस्तार, बजार सुदृढीकरण, कार्गो तथा यात्रु सेवा सुधार र स्थानीय सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नु रहेको थियो।
नेपाल-हङकङ उडानको ४३ औँ वर्षगाँठको अवसरमा सम्पन्न कार्यक्रममा कार्गो ट्र्याकिङ प्रणाली, उडान ढिलाइ र रद्द हुने समस्या समाधान, वाइडबडी जहाजको प्रभावकारी प्रयोगजस्ता विषयमा छलफल भएको निगमले जनाएको छ।
निगमले हङकङ भ्रमणका क्रममा साहित्यिक कार्यक्रममा अध्यक्षको छोटो सहभागिताबारे फैलाइएको हल्लालाई पनि निराधार बताएको छ। साथै, निगमसम्बन्धी समाचार प्रकाशनअघि प्रवक्तामार्फत तथ्य पुष्टि गर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।
साउन २७, २०८२ मंगलबार १८:२३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।