फाइटर ढाटलाई २ लाख रुपैयाँसहित महानगरले गर्‍यो सम्मान

फाइटर ढाटलाई २ लाख रुपैयाँसहित महानगरले गर्‍यो सम्मान

काठमाडौं : काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ।

ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए। 

सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए। ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु। अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु। यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ।’ 

ढाटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए। यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८-१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ। बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्।

यस्तै महानगरले प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११-११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ।
 
खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ। सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो।

उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए।
 
त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४-३६ को अन्तरले पराजय बेहोरेको थियो। खोखो टोलीका कप्तानले मन्तव्य राख्दै सम्मानले हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे। महिला टोलीले फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजय बेहोरेको थियो ।

साउन २७, २०८२ मंगलबार १७:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।