एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष’ बजारमा

काठमाडौं : कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ बजारमा आएको छ। वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले आज काठमाडौंमा आयोजित कार्यक्रममा सौन्दर्यको भग्नावशेषको विमोचन गरे।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताए। ‘जीवन र जगतका सत्यहरूलाई एलिसाले सहज रुपमा कवितामा उतार्नुभएको छ,’ वरिष्ठ कवि दिनेश अधिकारीले भने।
कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरू मात्र होइन अवसाद र असन्तुष्टिकाबीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने बताए। यसैगरि अर्का वक्ता कवि तथा प्राज्ञ डा. देवी नेपालले एलिसाका कविता सरल तर निकै गम्भीर रहेको बताए। ‘प्रत्येक कवितामा आजका मानिसका आशा र वाध्यता पढ्न सकिन्छ,’ डा. नेपालले भने।
यसैगरी कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको ‘प्यासेन’ देख्दा आफू संवेदित बनेको बताए।
त्यसअवसरमा कवि एलिसा ढुंगानाले कविताप्रतिको आफ्नो चाह बाल्यकाल देखि नै रहेको र अझै कवितामा नयाँ नयाँ काम गर्न मन लागेको बताइन्। साहित्यकार जीतेन्द्र रसिकले एलिसाका कवितामा पाठकले नयाँपन भेट्ने दावी गरे।
कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा लगायतले सौन्दर्यको भग्नावशेषभित्रका कविताहरू वाचन गरेका थिए। एईएम ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य र सञ्चारको क्षेत्रमा काम गर्दै आएको एईएम ग्रुपले प्रकाशनको क्षेत्रमा पनि हात हालेको भन्दै सबैको सहयोगको खाँचो रहेको बताए।
एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ। वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठले आवरण बनाएको यस कृतिमा वरिष्ठ कवि वैरागी काइँलाले भूमिका लेखेका छन्।
साउन २७, २०८२ मंगलबार १५:०६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।