सिटामोल : सशस्त्र द्वन्द्वको कथा भन्न ढङ्ग नपुग्दा आफैँ घाइते भएको फिल्म

सिटामोल : सशस्त्र द्वन्द्वको कथा भन्न ढङ्ग नपुग्दा आफैँ घाइते भएको फिल्म

माओवादी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानसँगै सरकारमा पुगेको सरकारले विभिन्न शीर्षकमा पटक-पटक राहत रकम दियो। तर त्यो राहत रकमले पूर्व लडाकूको जीवन बनायो कि भत्कायो? यही कथालाई केन्द्रमा राखेर राजबहादुर सानेले निर्माण गरेको फिल्म हो ‘सिटामोल।’

फिल्मको नामकरण साङ्केतिक रूपमा राखेका छन्। निर्देशकले दर्शकलाई रुवाउन गर्नसम्म प्रयास गरेका छन्। तर फिल्मको प्रारम्भ जसरी गराउँछन् बिचमा कथालाई दृश्यमा यात्रा गराउन नसक्दा निर्देशक नराम्रोसँग चिप्लिएका छन्।

कथाको उठान र बैठानमा निर्देशकले मिहिनेत गरेका छन्। तर जब कथाको उठानपछि द्वन्द्वको निर्माण गर्ने क्रममा बिचमा फिल्मको प्रस्तुति निकै कमजोर बनेको छ। इमोसनल जनरामा बनेको फिल्मले हल्का ‘पूर्णबहादुरको सारंगी’को फ्लेभरको समेत देखिन्छ।

लागौँ अब फिल्मको कथातर्फ

गाउँमा सिटामोल नपाएर आफ्नो बाबुआमा गुमाएका चन्द्र बहादुर बुढा(सौगात मल्ल) किरियामा बसेकै बेलामा सेतो कपडा फालेर विद्रोहमा सहभागी हुन्छन्। बन्दुक बोकेर लाल सलाम भन्दै जङ्गल पस्छन्।

२०६० साल जेठ १ गते जङ्गलमा भाषण गरिरहेको बेलामा सेनाले गरेको आक्रमणमा परेर उनले शारीरिक रूपमा अशक्त हुन्छन्। पार्टी शान्तिपूर्ण आन्दोलनमा आएपछि उनी अयोग्य लडाकु हुन्छन् र राहत बापत पाँच लाख पाउँछन्।

गाउँकी तारा (बेनिशा हमाल) र उसकी आमा पैसाको लोभी हुन्छन्। गाउँमा चन्द्रलाई भेट्दा पनि वास्ता नगर्ने उनी जब उनले राहतमा पाँच लाख पाउने सुन्छिन् तब विवाह गर्न राजी हुन्छन्।

विवाहपछि सन्तान हुन्छन्। गाउँमा रवाफ देखाउने चक्करमा ऋण लाग्छ। ऋण तिर्न नसकेपछि एकाएक तारा गायब हुन्छिन्। उनको लुगा, झोला गाउँकै नदीको किनारमा भेटिन्छ। अब बाउ छोराको अवस्था के हुन्छ? के ताराले आत्महत्या गरेकी हुन् त? फिल्मको मुख्य सस्पेन्स पक्ष यही नै हो।

सबल पक्ष

फिल्मका निर्देशक तथा लेखक राजबहादुर साने आफैँ कर्णालीका हुन्। उनी आफूले देखेको अनि भोगेको कथालाई नै पर्दामा उतार्ने गरेका छन्। फिल्म सिटामोलमा पनि उनले माओवादी सशस्त्र द्वन्द्वमा सहभागी कर्णालीका युवा अनि उनीहरूले भोगेको कथालाई पर्दामा बोकेर आएका छन्।

उनले फिल्मको सुटिङ सिन्धुलीमा गरेता पनि दर्शकलाई कर्णालीको बिकट गाउँको झल्को दिन सफल भएका छन्। फिल्मको सिनेमाटोग्राफी राम्रो छ।

सशस्त्र द्धन्द्धमार्फत माओवादी नेताको जीवन त बदलियो तर त्यही जनयुद्धमा ज्यानको माया मारेर होमिएकाहरूको जीवन कति दुखदायी छ भन्ने पक्ष देखाउन निर्देशक केही हदसम्म सफल भएका छन्।

विद्रोहकालले ल्याएको विकृति अनि शान्तिपूर्ण राजनीतिमा पार्टी आएपछि अयोग्य लडाकु तथा घाइते तथा अपाङगहरुको स्थायी आर्थिक स्रोतको व्यवस्थापनमा भन्दा सरकारमा गएको बेलामा राज्यस्रोतको दोहन गरेर दिइने राहतले जीवन बनाउनु भन्दा भत्काएको पक्ष राम्रोसँग देखाएका छन् निर्देशकले।

गच्छे अनुसारको खर्चभन्दा देखासिकीमा गरिने खर्चले अन्तमा परिवारलाई कसरी ध्वस्त बनाउँछ भन्ने सामाजिक पक्ष पनि छोएका छन् निर्देशकले।

बालक छोरो र श्रीमान् छाडेर एकाएक आमा गायब भएको प्रसङ्ग अनि त्यसपछिको बाबु-छोराको सङ्घर्षका दृश्यहरूले हल्का पूर्णबहादुरको सारङ्गीको फ्लेवरको झल्को दिएको छ।

घरमा अन्त सकिएपछि अपाङ्ग बुबालाई गीत गाएर मागेको पैसाले जाउलो खुवाएको लगायतका केही दृश्यले दर्शक भक्कानिन सक्छन्। फिल्मको क्लाइमेक्ससम्म तारा अरू कसैसँग भागेर गइन् कि आत्महत्या नै गरिन् भन्ने प्रश्न दर्शकको मनमा रहिरहन्छ।

अभिनयमा सौगात मल्ल अनि बेनिशा हमालसँगै बाल कलाकारले समेत राम्रो मिहेनत गरेका छन्। सौगातको अभिनय पक्ष प्राय बलियो नै हुने गरेको छ। तर कहिले संवाद त कहिले फिल्मको कथ्य शैलीका कारण उनको भागमा सफल भन्दा असफल फिल्म धेरै परिरहेका छन्।

फिल्म सिटामोलमा उनको अभिनय र संवाद दुवैको संयोजन राम्रो देखिएको छ। बेनिशा हमालको फिल्म हेरिरहेका दर्शकहरूका लागि यो फिल्ममा उनले गरेको अभिनयको स्तर सर्प्राइज लाग्न सक्छ। बालकलाकारले पनि राम्रो अभिनय गरेका छन्। लोकेन्द्र लेखकले गोल्डेन साहुको भूमिकामा राम्रो प्रयास गरेका छन्।

दुर्बल पक्ष

फिल्मको सबैभन्दा ठूलो कमजोरी नै कथ्य संरचना र एकै गतिमा फिल्मलाई दृश्य भाषामा बगाउन नसक्नु हो। समस्याको प्रारम्भ र समाधानलाई सहज रूपमा प्रस्तुत गर्न निर्देशक सफल भएका छन्। तर जब द्वन्द्वको निर्माण हुन्छ त्यसलाई अति भावुक बनाउने चक्करमा फिल्मको बिचको भाग निकै सुस्त र पट्यारलाग्दो बन्न पुगेको छ।

फिल्मको कथाको प्रारम्भ रमाइलो पारामा गराएका निर्देशकले क्लाइमेक्समा पनि मिहेनत गरेका छन्। तर फिल्मको कथा आधा घण्टापछि नै बहकिन थाल्छ। एकै प्रकारको दृश्य अनि एउटै गीतले दर्शकलाई झिँजो लाग्न थाल्छ।

डबिङको क्रममा लिप्सिङ समेत मिलाउन सकेको छैन निर्माण टिमले। गायक बनेका बाल कलाकार निगम शर्मा र शालुको लिप्सिङ खासै मिलेको देखिएन फिल्ममा। तारा गाउँबाट हराएपछि प्रहरीले गर्ने खोजीको दृश्य ‘ल अब हिरोइन हराइन्। अब यसो खोजेको जस्तो गरौँ त’ भन्ने पाराको छ।

दुई मुख्य कलाकार श्री कृष्ण निरौला र जानुका विश्वकर्माको भूमिका निकै फितलो र अभिनय निकै कमजोर देखिन्छ फिल्मको ब्याकग्राउण्ड म्युजिक अन्त्यतिर बलियो छ। अन्य स्थानमा ठिकठाकै।

फिल्ममा रहेका ‘सिमलको फूल’,‘तिमी भन्छौँ औँठी सुनैको’ र ‘आँटो खुवाउने आमालाई के भनौँ ’लगायत गीतहरू छन्। एकाधबाहेक कर्णप्रिय छैनन्।

सगरमाथा चढ्नु मात्र सफलता हैन। जबसम्म सगरमाथाको टुप्पोमा पुगेको आरोही सफलतापूर्वक बेसक्याम्प आइपुग्दैनन् तबसम्म आरोहण सफल भएको मानिन्न।

फिल्म सिटामोलमा निर्देशक सानेले फटाफट आरोहण गरेका छन्। तर फिल्मको कथाले उनको बलियो फिल्म बनाउने यात्रा बिचैमा दुर्घटनामा परेको अनुभव हुन्छ।

कथा नयाँ हैन। तर जसरी उनले कथामा ट्रिटमेन्टको प्रयास गरेका छन् त्यसले केही हदसम्म दर्शकलाई तान्न सफल भएको छ। फिल्मको सबैभन्दा ठूलो समस्या नै फिल्मको मध्यभागमा पुगेर अलमलिएका निर्देशक हुन्।

हराएकी श्रीमतीको पर्खाइमा रहेको श्रीमान् र अपाङ बाबुको हेरचाहको जिम्मेवारी थपिएको नाबालकको संघर्ष देखाउनेक्रममा उनले स्क्रिप्ट राम्रोसँग माझ्नै सकेनन्। अनि फिल्मको लय नै लडखडायो। कथा र फिल्मको फ्रेम बलियो हुँदाहुँदै पटकथा लेखनमा ठूलो कमजोरी देखियो।

फिल्मको अन्तिम आधा घण्टाजतिको दृश्यका कारण फिल्म दुर्घटनामा पर्नबाट जोगिएको छ। तर बिचको भागमा दिक्क भएका दर्शक अन्तिमसम्म हलको सिटमा अड्किन सक्छन्? यो फिल्मको परीक्षा नै त्यही हो।

साउन २७, २०८२ मंगलबार १३:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।