अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, एक बालकसहित तीन नेपाली भाषीको मृत्यु

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, एक बालकसहित तीन नेपाली भाषीको मृत्यु

एजेन्सी : अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा सोमबार एक बन्दुकधारीले टार्गेट स्टोरको पार्किङमा अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन नेपालीभाषीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र उनीहरूका तीन वर्षे छोरा प्रनिशको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनापछि दुईवटा कार चोरेर भागेका आक्रमणकारीलाई प्रहरीले शहरको अर्को छेउबाट विद्युतीय हतियार प्रयोग गरी पक्राउ गरेको अधिकारीहरूले बताएका छन्।

अस्टिनका प्रहरी प्रमुख लिसा डेभिसका अनुसार पक्राउ परेका व्यक्ति अन्दाजी ३० वर्षीय पुरुष हुन्। प्रहरीले आक्रमणको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ।

आक्रमणकारी घटनास्थलबाट चोरेको कारमा भागेका थिए, तर त्यो कार दुर्घटनाग्रस्त भएपछि उनले एउटा डिलरशिपबाट अर्को कार चोरेको प्रमुख डेभिसले बताइन्। आक्रमणकारीलाई घटनास्थलबाट करिब ३२ किलोमिटर टाढा, दक्षिण अस्टिनबाट पक्राउ गरिएको थियो।

डेभिसका अनुसार, दिउँसो करिब २:१५ बजे सूचना पाएर घटनास्थल पुगेका प्रहरी अधिकारीहरूले टार्गेटको पार्किङमा तीन जनालाई गोली लागेको अवस्थामा फेला पारेका थिए। मारिएका मध्ये एक जना स्टोरको पार्किङबाट चोरिएको कारको मालिक भएको प्रहरीको भनाइ छ।

अस्टिन-ट्राभिस काउन्टी आपतकालीन चिकित्सा सेवाका अनुसार, महिला र बच्चाको घटनास्थलमै मृत्यु भएको र पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।

प्रहरी प्रमुख डेभिसले भनिन्, ‘यो अस्टिनका लागि एक धेरै दुःखद दिन हो। यो हामी सबैका लागि दुःखद दिन हो। पीडित परिवारप्रति मेरो समवेदना छ।’

ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन्। उनकी श्रीमती रञ्जनाको माइत भने काठमाडौंमा छ।

साउन २७, २०८२ मंगलबार १२:५१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।