३० लागिन् सारा : रोहित शेट्टीसँग हातै जोडेर काम मागिन्, नेपोटिज्मको आरोपदेखि पाँच जनासँग अफेयरको चर्चासम्म

३० लागिन् सारा : रोहित शेट्टीसँग हातै जोडेर काम मागिन्, नेपोटिज्मको आरोपदेखि पाँच जनासँग अफेयरको चर्चासम्म

एजेन्सी : बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले आफ्नो मेहनत, लगन र प्रतिभाले उद्योगमा छुट्टै पहिचान बनाएकी छन्। यद्यपि, उनी फिल्मभन्दा बढी आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छिन्।

नेपोटिज्मको विषयलाई लिएर उनी प्रायः ट्रोलको सिकार बन्ने गर्छिन्। यस विषयमा साराले एकपटक भनेकी थिइन्, ‘म आफ्नो आमा-बुबालाई त बदल्न सक्दिनँ। म सधैँ चाहन्छु कि मानिसहरूले मलाई मेरो कामले चिनुन्।’

​​​​​​आज साराले आफ्नो ३०औं जन्मदिन मनाउँदै गर्दा उनको जीवन र करियरका केही रोचक पक्षबारे चर्चा गर्दैछौँ।

अभिनेत्री बन्ने सपना र पहिलो फिल्म
सारा अली खान बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहन्थिन्। शिकागोमा ऐश्वर्या रायको स्टेज प्रस्तुति हेरेपछि उनमा अभिनेत्री बन्ने इच्छा जागेको थियो।

तर, उनका बुबा सैफ अली खान चाहन्थे कि साराले बलिउडमा आउनुअघि आफ्नो पढाइ पूरा गरुन्। बुबाको कुरा मानेर साराले सन् २०१६ मा न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयबाट स्नातक गरिन्।

त्यसपछि, सन् २०१८ मा फिल्म ‘केदारनाथ’बाट उनले हिन्दी सिनेमामा डेब्यु गरिन्। यस फिल्ममा उनीसँग दिवंगत अभिनेता सुशान्त सिंह राजपूत मुख्य भूमिकामा थिए। यो फिल्मका लागि साराले ‘बेस्ट फिमेल डेब्यु’को फिल्मफेयर अवार्ड पनि जितिन्।

फिल्म ‘केदारनाथ’ को सुटिङकै क्रममा साराले रोहित शेट्टीको फिल्म ‘सिम्बा’ साइन गरेकी थिइन्, जसकारण दुवै फिल्मको सुटिङको मिति जुध्न पुग्यो। यसले ‘केदारनाथ’ का निर्देशक अभिषेक कपूरलाई अप्ठ्यारोमा पार्यो।

सुटिङमा बाधा पुगेपछि अभिषेकले सारामाथि सम्झौता तोडेको भन्दै कानुनी कारबाही अगाडि बढाए र ५ करोड भारु क्षतिपूर्तिको माग गरे। यो मामिलाले तनावमा आएकी साराले बुबा सैफलाई सबै कुरा बताएपछि सैफ र करण जोहरको मध्यस्थतामा यो विवाद सुल्झाइएको थियो।

जब रोहित शेट्टीसँग हात जोडेर काम मागिन्
फिल्म ‘सिम्बा’ मा काम पाउनु साराका लागि सहज थिएन। उनले निर्देशक रोहित शेट्टीलाई लगातार म्यासेज गरेर काम मागिरहेकी थिइन्। सुरूमा रोहितले उनका म्यासेजको वास्ता गरेनन्, तर पछि अफिसमा भेट्न बोलाए।

साराले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म एक्लै सेतो सलवार-कमिज लगाएर रोहित सरको अफिस पुगेकी थिएँ। मैले उहाँको अगाडि साँच्चै हात जोडेँ र भनेँ, ‘सर, कृपया मलाई काम दिनुहोस्’।’

स्टार किड भएकै कारण साराले नेपोटिज्मको आरोप बारम्बार खेप्नुपरेको छ।

यस विषयमा उनले भनेकी छन्, ‘जुन कुरामा हाम्रो नियन्त्रण छैन, त्यसबारे सोचेर फाइदा छैन। म आफ्नो नामबाट भाग्न सक्दिनँ र चाहन्नँ पनि। मलाई सधैँ लाग्छ कि मानिसहरूले मलाई मेरो कामले चिनुन्।’

चर्चामा साराका प्रेम सम्बन्ध
अभिनयका साथै सारा आफ्नो प्रेम जीवनका कारण पनि चर्चामा रहन्छिन्। उनको नाम सुशान्त सिंह राजपूत, ईशान खट्टर, हर्षवर्धन कपूर, क्रिकेटर शुभमन गिल, वीर पहाडिया र कार्तिक आर्यनसँग जोडिएको छ।

‘केदारनाथ’को सुटिङका क्रममा सुशान्त सिंह राजपूत र साराको निकटता बढेको खबर आएको थियो भने पछि करण जोहरको शो ‘कफी विथ करण’ मा साराले कार्तिक आर्यन आफ्नो क्रश भएको बताएकी थिइन्। पछि उनीहरूले फिल्म ‘लभ आज कल’ मा सँगै काम गरे र उनीहरूको अफेयरको चर्चा चल्यो।

त्यसैगरी भारतीय क्रिकेटर शुभमन गिलसँग डिनरमा देखिएपछि उनीहरूको डेटिङको खबर फैलिएको थियो। यद्यपि यसलाई दुवैले स्वीकार गरेका छैनन्। अर्को एक अन्तर्वार्तामा साराले आफूले डेट गरेको एक मात्र व्यक्ति वीर पहाडिया भएको स्वीकार गरेकी थिइन्। वीर राजनीतिज्ञ सुशील कुमार शिन्देका नाति हुन्।

यसका अलावा सालै साराको नाम अर्जुन प्रताप बाजवासँग जोडिएको छ। अर्जुन पञ्जाब भाजपाका उपाध्यक्ष फतेह जंग सिंह बाजवाका छोरा हुन् र उनी पनि अभिनयमा सक्रिय छन्।

सबै धर्मको सम्मान तर निरन्तर ट्रोलिङ
सारा आफ्नो संस्कारका लागि पनि चिनिन्छिन्। उनी हरेक धर्मको सम्मान गर्छिन् र मन्दिर, मस्जिददेखि गुरुद्वारासम्म दर्शनका लागि पुग्छिन्। तर, यही कारणले उनी मुस्लिम समुदायका कट्टरपन्थीहरूबाट ट्रोलिङको सिकार पनि बन्ने गरेकी छन्।

कामाख्या मन्दिर र वैद्यनाथ ज्योतिर्लिङ्ग मन्दिरको दर्शन गर्न जाँदा उनलाई सामाजिक सञ्जालमा ‘आफ्नो नाम बदलेर सीता राख’ वा ‘धर्म परिवर्तन गर’ जस्ता प्रतिक्रिया आएका थिए।

ट्रोलिङबारे सारा भन्छिन्, ‘सुरूमा मलाई असर गर्थ्यो, तर अब यी कुराहरूले फरक पार्न छाडेको छ। ध्यानले मलाई यस्ता कुरासँग जुध्न मद्दत गर्छ। मेरो लागि समस्या ट्रोलिङ होइन, तर म नै सर्वश्रेष्ठ हुँ भन्ने मेरो सोच थियो। अब मैले त्यस्तो सोच्न छाडेकी छु।’

साउन २७, २०८२ मंगलबार १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।