इस्लामाबादमा भारतीय कूटनीतिज्ञको घरमा ग्यास र पानी आपूर्ति बन्द गरिएको दाबी

इस्लामाबादमा भारतीय कूटनीतिज्ञको घरमा ग्यास र पानी आपूर्ति बन्द गरिएको दाबी

एजेन्सी : पाकिस्तानले इस्लामावादस्थित भारतीय कूटनीतिज्ञहरूको घरमा जाने ग्यास आपूर्ति बन्द गरिदिएको भारतीय सञ्चारमाध्यमको दाबी छ।

इन्डिया टुडेको रिपोर्ट अनुसार, ग्यास आपूर्ति मात्र नभई स्थानीय ग्यास सिलिन्डर बिक्रेताहरूलाई समेत भारतीय कूटनीतिज्ञहरूलाई सिलिन्डर बिक्री नगर्न निर्देशन दिइएको छ। यसका साथै, मिनरल वाटर (पिउने पानी) र पत्रपत्रिकाहरूको आपूर्ति पनि रोकिएको छ।

रिपोर्टका अनुसार, यो कदम पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईको योजनाको एक हिस्सा हो, जसअन्तर्गत पाकिस्तानले सानातिना प्रतिशोधात्मक कारबाहीहरू गरिरहेको छ।

पाकिस्तानले यस्तो व्यवहार देखाएको यो यो पहिलो पटक होइन। सन् २०१९ मा पुलवामा हमलाको जवाफमा भारतले गरेको बालाकोट हवाई हमलापछि पनि पाकिस्तानी अधिकारीहरूले भारतीय कूटनीतिज्ञहरूलाई यस्तै प्रकारले दुःख दिएका थिए।

जवाफी कदमस्वरूप भारतले पनि नयाँ दिल्लीमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूलाई पठाइने पत्रपत्रिकाहरूको आपूर्ति बन्द गरिदिएको छ।

भियना महासन्धिको ठाडो उल्लङ्घन
पाकिस्तानले ग्यास, पानी र पत्रिका जस्ता आधारभूत सुविधा रोक्नु कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि (१९६१) को स्पष्ट उल्लङ्घन हो। महासन्धिको धारा २५ अनुसार, आयोजक राष्ट्रले कूटनीतिक नियोगको सहज सञ्चालनका लागि सबै आवश्यक सुविधाहरू प्रदान गर्नुपर्ने हुन्छ।

पाकिस्तानले जानाजानी यी आधारभूत आपूर्तिहरू रोकेर नियोगको काम र कूटनीतिज्ञहरूको दैनिक जीवनमा बाधा पुऱ्याएको छ। महासन्धिको उद्देश्य कूटनीतिज्ञहरूले बिना कुनै डर र हस्तक्षेप आफ्नो काम गर्न पाऊन् भन्ने हो। पाकिस्तानको यो कदमले सीधै डर र दबाबको वातावरण सिर्जना गर्ने प्रयास गरेको देखिन्छ।

यसअघि पहलगाम हमलापछि भारतले सिन्धु जल सम्झौता स्थगित गरेको थियो। उक्त निर्णयको विरोधमा इस्लामावादस्थित भारतीय उच्चायोग बाहिर स्थानीयहरूको भीडले प्रदर्शन र हंगामा गरेको थियो।

सो क्रममा केही प्रदर्शनकारीले गेट नाघेर भित्र पस्ने प्रयास गरेका थिए र भारतविरोधी नारा लगाएका थिए। पाकिस्तानले जानाजानी भारतीय उच्चायोग बाहिरबाट सुरक्षा हटाएको आरोप पनि लागेको थियो।

साउन २७, २०८२ मंगलबार ११:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।