तेस्रो पटक क्यूएए पाएको अवसरमा लुम्बिनी वाणिज्य क्याम्पसको प्रभातफेरी

बुटवल : लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट तेस्रो पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अवसरमा बुटवलमा प्रभातफेरी आयोजना गरेको छ।
क्याम्पस प्राङ्गणबाट सुरु भएको र्याली नगरका विभिन्न चोक परिक्रमा गरी पुनः क्याम्पसमै पुगेर समापन भयो।
कार्यक्रममा बुटवलका नगरप्रमुख खेलराज पाण्डेय, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो।
क्याम्पस प्रमुख प्रा.डा. उपाध्यायले लगातार तेस्रो पटक क्यूएए प्राप्त गर्ने लुम्बिनी वाणिज्य क्याम्पस नेपालकै पहिलो भएको बताउँदै क्याम्पसलाई विश्वविद्यालय बनाउने योजना रहेको जानकारी दिए।
वि.सं. २०३८ सालमा स्थापित यस क्याम्पसले पहिलोपटक वि.सं. २०६८ र दोस्रोपटक २०७५ मा क्यूएए प्रमाणपत्र पाएको थियो।
क्याम्पस वि.सं. २०७५ र २०८० मा 'सर्वोत्कृष्ट सामुदायिक क्याम्पस'को रूपमा पुरस्कृत तथा २०७६ मा 'लुम्बिनी प्रदेश प्रज्ञा पदक'बाट विभूषित भएको थियो। हाल यहाँ करिब ४ हजार विद्यार्थी अध्ययनरत छन्।
साउन २७, २०८२ मंगलबार ०९:५५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।