अमेरिका-चीन व्यापार युद्ध तत्काललाई टर्यो, कर नलगाउने सम्झौता ९० दिन लम्बियो

एजेन्सी : अमेरिका र चीनले एकअर्काविरुद्ध नयाँ कर नलगाउने सहमतिलाई थप ९० दिनका लागि लम्ब्याएका छन्।
विद्यमान सम्झौताको म्याद सकिनै लाग्दा दुई देशबीच यो निर्णय भएको हो, जसले तत्कालका लागि व्यापार युद्ध थप चर्किनबाट रोकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै मे महिनामा भएको अस्थायी सम्झौतालाई निरन्तरता दिएका हुन्।
यो निर्णयसँगै अमेरिकाले मंगलबारदेखि चिनियाँ सामानमाथि उच्च शुल्क लगाउने आफ्नो पूर्व चेतावनीबाट पछि हटेको छ।
गत महिना दुई देशबीच भएको वार्तामा चीनले सहमति कायम राख्न तयार रहेको बताएको थियो। अप्रिलमा व्यापार तनाव उत्कर्षमा पुगेको थियो जब राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमाथि भारी कर लगाउने घोषणा गरेका थिए।
जवाफमा चीनले पनि अमेरिकी सामानहरूमाथि प्रतिशोधात्मक कर लगाएको थियो, जसले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्धको सुरुवात गरेको थियो।
मे महिनामा भएको सम्झौताले दुवै पक्षलाई नयाँ करहरू लागू गर्नबाट रोकेको थियो र वार्ताका लागि मार्गप्रशस्त गरेको थियो। सोही सम्झौतालाई अहिले निरन्तरता दिइएको हो।
साउन २७, २०८२ मंगलबार ०९:०३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।