पाँचथरमा एक वर्षमा लडेर २५ जनाको मृत्यु, भवितव्य ज्यान गुमाउनेको संख्या बढ्दो

पाँचथर : पाँचथर जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा लडेर २५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, भवितव्य ज्यान गुमाउनेहरूमध्ये लडेर मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको हो।
विशेषगरी ग्रामीण क्षेत्रमा रातिको समयमा हिँडडुल गर्ने व्यक्तिहरू लडेर ज्यान गुमाउने गरेको पाइएको छ। मेलापात वा छिमेकीको घरबाट फर्कंदा अँध्यारोमा लड्दा मृत्यु हुने घटना बढेको छ। गत आर्थिक वर्षमा मात्रै २५ जनाले यसरी ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार, मादक पदार्थ सेवन गरी राति हिँड्ने बानीले पनि यस्ता घटनामा वृद्धि भएको छ।
यसबाहेक, घाँस-दाउरा गर्न वा पशु चराउन जाँदा अचानक लडेर पनि मानिसहरूको मृत्यु हुने गरेको छ। ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको समयमै उद्धार हुन नसक्दा पनि मृतकको संख्या बढेको बताइएको छ।
गत आर्थिक वर्षमा विभिन्न कारणले मृत्यु भएका अन्य घटनाहरू पनि प्रहरीले रेकर्ड गरेको छ। जसअनुसार, कारण नखुली १४ जनाको ज्यान गएको छ।
अचानक बिरामी परेर र खोलाले बगाएर ६-६ जनाको मृत्यु भएको छ भने आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर २-२ जनाको मृत्यु भएको प्रनाउ बुढाथोकीले जानकारी दिए। त्यस्तै, चट्याङ लागेर, रूखले किचेर, सवारी दुर्घटना र पहिरोमा परेर एक-एक जनाको ज्यान गएको छ।
मुद्दा दर्ताको अवस्था
गत वर्ष पाँचथर प्रहरीमा २३२ वटा मुद्दा दर्ता भएका छन्, जसमा सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ६२ वटा मुद्दा छन्। प्रहरीले आत्महत्याका घटनालाई पनि मुद्दाका रूपमा दर्ता गर्ने गरेको छ। गत वर्ष आत्महत्याका ४८ र अभद्र व्यवहारका २७ वटा मुद्दा दर्ता भएका थिए।
त्यसैगरी, बैंकिङ कसुर र जबर्जस्ती करणीका १२-१२ वटा, ज्यान मार्ने उद्योगका १० वटा, लागुऔषध र फुटकर ज्यानसम्बन्धी ९-९ वटा, बाल यौन दुर्व्यवहारका ६ वटा तथा ज्यानसम्बन्धी र बहुविवाहका ५-५ वटा मुद्दा दर्ता भएका छन्। सवारी ज्यान, चोरी र ठगीका समान ४-४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
प्रनाउ बुढाथोकीका अनुसार, विगत चार आर्थिक वर्षमा मुद्दा दर्ताको संख्या लगभग स्थिर रहेको छ। आव २०७८/७९ मा २३५, २०७९/८० मा २३४ र २०८०/८१ मा २३७ वटा मुद्दा दर्ता भएका थिए। पाँचथर प्रहरीले जिल्लामा अपराधको प्रवृत्ति र दरका आधारमा कार्ययोजना बनाएर काम गरिरहेको उनले बताए
साउन २७, २०८२ मंगलबार ०८:१७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।