एनभिडिया र एएमडीले चीनमा एआई चिप बिक्रीबाट हुने आम्दानीको १५ प्रतिशत सरकारलाई दिन सहमत

एनभिडिया र एएमडीले चीनमा एआई चिप बिक्रीबाट हुने आम्दानीको १५ प्रतिशत सरकारलाई दिन सहमत

एजेन्सी : अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया र एएमडीले चीनमा आफ्नो एआई चिप बिक्रीबाट हुने आम्दानीको १५ प्रतिशत हिस्सा अमेरिकी सरकारलाई बुझाउन सहमति जनाएका छन्। यो सम्झौता चीनमा चिप्स निर्यात गर्नका लागि आवश्यक पर्ने इजाजतपत्र प्राप्त गर्ने शर्तको रूपमा आएको हो।

अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता क्षेत्रमा प्रयोग हुने शक्तिशाली चिप्स चीनलाई बिक्री गर्न प्रतिबन्ध लगाएको थियो। सुरक्षा विशेषज्ञहरूले एनभिडियाको एच२० चिप चीनमा निर्यात गर्दा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुनसक्ने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर गहिरो चिन्ता व्यक्त गरेका थिए।

विशेष गरी चिनियाँ बजारका लागि विकास गरिएको एनभिडियाको एच२० चिपको बिक्रीमा ट्रम्प प्रशासनले यसै वर्षको अप्रिलमा प्रतिबन्ध लगाएको थियो। यद्यपि, एनभिडियाका सीईओ जेनसेन ह्वाङले चीनमा चिप बिक्रीका लागि महिनौंसम्म लबिङ गरेका थिए र गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता पनि गरेका थिए।

राष्ट्रपति ट्रम्पले एक पत्रकार सम्मेलनमा यो सम्झौताको पुष्टि गर्दै आफूले एनभिडियासँग वार्ता गरेको बताए। उनले भने, ‘यदि तिमी यो स्वीकृति चाहन्छौ भने म २० प्रतिशत चाहन्छु तर उनले १५ प्रतिशत बनाउन आग्रह गरे। त्यसैले हामीले एउटा सानो सम्झौतामा कुराकानी गर्यौँ।’

ह्वाइट हाउसले एनभिडिया र एएमडीसँग भएको सम्झौताको पुष्टि गरेको छ। सम्झौता अनुसार एनभिडियाले आफ्नो एच२० एआई चिपको बिक्रीबाट प्राप्त हुने राजस्वको १५ प्रतिशत र एएमडीले आफ्नो एमआई३०८ चिपको बिक्रीबाट प्राप्त हुने राजस्वको १५ प्रतिशत हिस्सा सरकारलाई दिनेछ।

एनभिडियाले बीबीसीलाई दिएको एक बयानमा भनेको छ, ‘हामी विश्वभरका बजारहरूमा हाम्रो सहभागिताका लागि अमेरिकी सरकारले तोकेका नियमहरूको पालना गर्छौं। यद्यपि हामीले महिनौंदेखि चीनमा एच२० चिप पठाएका छैनौं।’

यो सम्झौताले केही विज्ञहरू र सांसदहरूबीच चिन्ता पैदा गरेको छ। उनीहरूले निर्यात नियन्त्रण जस्तो राष्ट्रिय सुरक्षाको उपकरणलाई राजस्व उठाउने माध्यम बनाउनुको वैधता र औचित्यमाथि प्रश्न उठाएका छन्।

साउन २७, २०८२ मंगलबार ०८:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।