टी-२० विश्वकप छनोटको तयारी : अष्ट्रेलिया उड्यो नेपाली क्रिकेट टोली, पहिलो खेल शुक्रबार

काठमाडौं : आईसीसी टी-२० विश्वकप छनोटको तयारीलाई मध्यनजर गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी-२०’ प्रतियोगिता खेल्न सोमबार साँझ त्यसतर्फ प्रस्थान गरेको छ। ओमानमा हुने विश्वकप छनोटको पूर्वतयारी स्वरूप नेपालले पहिलो पटक यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको थियो। सोही कार्यक्रममा राष्ट्रिय टोलीको जर्सीको प्रायोजकका रूपमा नासा सेक्युरिटिजसँग सम्झौता भएको घोषणा गर्दै नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो। सम्झौताअनुसार नासा सेक्युरिटिजले क्यानलाई आगामी तीन वर्षसम्म वार्षिक २ करोड ३६ लाख रुपैयाँ प्रदान गर्नेछ।
अष्ट्रेलिया भ्रमणअघि नेपाली टोलीले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा र भारतको बैंग्लोरमा रहेको नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा करिब १५ दिनको विशेष प्रशिक्षण गरेको थियो। कप्तान रोहित पौडेलले अष्ट्रेलियाको बलियो टोलीहरूसँगको प्रतिस्पर्धाले विश्वकप छनोटका लागि तयारीमा ठूलो मद्दत पुग्ने बताएका छन्।
१६ सदस्यीय टोलीमा एक परिवर्तन गरिएको छ। देब्रेहाते स्पिनर ललित राजवंशीकी आमाको निधन भएपछि उनको स्थानमा साहब आलमलाई टोलीमा समावेश गरिएको छ।
अगस्ट १४ देखि २४ सम्म डार्विनमा आयोजना हुने यस प्रतियोगितामा नेपालसहित ११ टोलीको सहभागिता रहेको छ। नेपालले राष्ट्रिय टोली पठाउँदा पाकिस्तान र बंगलादेशले भने आफ्नो 'ए' टोली पठाएका छन्।
प्रतियोगितामा नेपाल, पाकिस्तान शाहीन (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’, अमेरिकाको शिकागो किंग्समेन, अष्ट्रेलियाका बिग ब्यास लिगका पाँच एकेडेमी टोलीहरू- होबार्ट हरिकेन्स, पर्थ स्कर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स साथै एसीटी कोमेट्स र स्थानीय टोली नर्दन टेरिटरी स्ट्राइक रहेका छन्।
प्रतियोगितामा नेपालले कम्तीमा छ वटा लिग खेल खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल अगस्ट १५ मा नर्दन टेरिटरी स्ट्राइकविरुद्ध खेल्दा दोस्रो खेल अगस्ट १६ मा बंगलादेश ‘ए’ विरुद्ध खेल्नेछ।
यसका साथै अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबार्ट हरिकेन्स, अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तान शाहीनविरुद्ध नेपालले खेल्नेछ।
लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले अष्ट्रेलियाको फरक वातावरण र बलिया प्रतिस्पर्धीसँग खेल्दा खेलाडीहरूले महत्वपूर्ण अनुभव हासिल गर्ने र विश्वकप छनोटका लागि तयार हुन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
यो भ्रमणलाई नेपाली क्रिकेटको विकास र विश्वकपमा तेस्रो पटक छनोट हुने लक्ष्यका लागि महत्वपूर्ण मानिएको छ।
साउन २७, २०८२ मंगलबार ०७:४५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।