‘रवि राखिएको हिरासतको कोठामा शुभचिन्तकको एसी, हल्ला भएपछि रातारात हटाइयो’

बुटवल : जिल्ला कारागार रुपन्देहीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बस्ने कोठाको भवनमा एसी जडान भएको तस्बिर फेला परेको छ।
रविलाई कारागारभित्र अमानवीय रूपमा राखेको समाचारमा नयाँ पत्रिकामा सार्वजनिक भएसँगै उनी वातानुकूलित उपकरणसहित कोठामा बस्ने गरेको र झ्यालमा प्लाई ठोक्नुको कारण त्यही एसी रहेको अर्को दाबी सहित अन्नपूर्णपोस्टमा समाचार प्रकाशित भएको थियो।
उनी सुविधायुक्त कोठामा बसेका छन् या अमानवीय रुपमा राखिएको छ भनेर सोमबार राष्ट्रिय मानवअधिकार आयोगको टोलीले कारागार पुगेर उनलाई राखिएको हिरासतको कोठाको अनुगमन गरेको थियो। अनुगमन टोलीले कोठामा फ्यान रहेको बताए पनि एसी नदेखिएको सार्वजनिक गरेको थियो। कोठामा दुई वटा पङ्खा मात्र रहेको शौचालयको अवस्था निकै नाजुक रहेको आयोगको टोलीले बताएको थियो।
‘उहाँलाई राखिएको ब्लकमा हावा पास हुने राम्रो अवस्था छैन, तर कोठामा पङ्खा भने रहेछ,’ आयोगकी आयुक्त लीला थापाले कारागारको अनुगमन पछि भनेकी थिइन, ‘बाहिर आएजस्तो एसी भएको कुरा सत्य होइन।’
तर रविलाई राखिएको हिरासतको कोठामा एसी जडान भएको तर आयोगको टोली पुग्न ३-४ दिन अघि नै एसी निकालिएको पाइएको छ। अहिले उक्त भवनबाट कम्प्रेसर र एसी दुवै निकालिएको देखिन्छ।
उकेराले रवि राखेको कोठाको छतमा पानीका केही बोतलहरूले छोपेर एसी लुकाएको तस्बिर समेत फेला पारेको छ। सो तस्बिर कारागार बाहिरको एक घरबाट खिचिएको हो। पहिला एसी बाहिरै देखिन्थ्यो। पहिलो तस्बिर रवि एसी जडित रुममा रहेको दाबी सार्वजनिक हुनु अगाडिको हो। तर सोमबार दिउसको तस्बिरमा एसी पुरै छोपेर लुकाएको देखिन्छ।
छत माथि जुटको बोरामा पिउने पानीको बोतलले छोपेर केही दिन अघिसम्म त्यहाँ कम्प्रेसर राखिएको थियो। एसीको पाइप कोठामा लैजान छतमा पारिएको प्वाल भने अहिले पनि देखिन्छ।
उकेराले रात र दिनको गरेर दुई वटा तस्बिर फेला पारेपछि दुबै तस्बिरको विश्लेषण गरेको थियो। दुवै तस्बिर हेर्दा एकै स्थानबाट खिचिएको देखियो। त्यसमा कारागार बाहिरको भवन, कारागारको पर्खाल, र रवि राखेको ब्लकको छत, छतमा राखिएको कालो ट्याङकी र ट्याङकी नजिकै रुखको हाँगाहरु रहेको छ। दुबै तस्बिरमा यी समान छन्।
रविलाई राखेको ब्लक कारागार बाहिरको घरबाट सहजै देखिने र बाहिरबाट ढुङ्गासमेत हानेको घटना पहिला भएकाले झ्यालमा प्लाइले छोपेको जेलरले सोमबार मानव अधिकार आयोगको टोलीसँग दाबी गरेका थिए। यसले समेत सो क्षेत्र कारागार बाहिरबाट सहजै देखिने पुष्टि भयो।
बेलुका खिचिएको तस्बिरमा प्रस्ट एसीको बाहिर राखिने भाग देखिन्छ। त्यो पनि हल्का छोप्ने प्रयास भने गरिएको छ। तर दिउस खिचिएको दोस्रो तस्बिरमा भने एसीको बाहिर राखिने भाग पुरै छोपिएको देखिन्छ।
लामिछाने रहेको भवनमा एसी जडान कारागार प्रशासन आफैले भने गरेको हैन। स्रोतको दाबी अनुसार एसी रविकै शुभचिन्तकले जडान गरिदिएका थिए। तर रविले हिरासतभित्रको कक्षमा भिआइपी सुविधा लिएको खबर फैलिएपछि जेल प्रशासनले रातको समयमा एसी हटाउन लगाएका थिए।
उकेराले प्राप्त गरेको एसी देखिएको तस्बिर भैरहवा कारागारको ब्लक नम्बर चारकै हो जहाँ रविलाई मात्र राखिएको छ। भवनको छानोमा राखिएको एसीको कम्प्रेसर शनिवार मध्यरातमा हटाइएको स्रोतको दाबी छ।
रविका बारेमा विभिन्न मिडियामा सुविधा पाए, नपाएबारे समाचार आएपछि कारागार कार्यालयले विज्ञप्ति जारी गर्दै रास्वपा सभापति लामिछानेप्रति कुनै फरक व्यवहार नगरिएको दाबी गरेको थियो।
जेलर सुरेश भण्डारीले पनि अन्य कैदी बन्दी जस्तै लामिछानेले पनि सुविधा पाएको दाबी गरेका थिए। यसबारे प्रतिक्रियाका लागि जेलर भण्डारीसँग सम्पर्क गर्ने प्रयास सफल भएन। उनी फोन सम्पर्कमा आउन चाहेनन्।
साउन २६, २०८२ सोमबार २२:१६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।