‘मोहर’ : सरी पल ! यो फिल्मले पनि तिम्रो अभिनय यात्रा डुबाउने नै भयो, पुन प्रयास गर्नु राम्रो

‘मोहर’ : सरी पल ! यो फिल्मले पनि तिम्रो अभिनय यात्रा डुबाउने नै भयो, पुन प्रयास गर्नु राम्रो

यूट्युवका शीर्षकहरू हेर्ने हो भने अहो बबालै फिल्म पो रहेछ ‘मोहर’ भन्ने लाग्न सक्छ। अनि युट्युबका चल्तीका फिल्म रिभ्युअरदेखि सिकारुसम्म पनि पल शाहको अहिलेसम्मकै बबाल फिल्म भनेर प्रशंसा गरेर थाकिरहेका छैनन्। टिकटक हेर्ने हो भने पनि पुरै समाज मोहरको पात्रहरूसँग धुरुधुरु रोइरहे जस्तै भान पर्न सक्छ। हो, फिल्म हेरेकाहरू धरधर रोइरहेका छन्। तर फिल्मको कथाले छोएर, अथवा कलाकारको अभिनय हेरेर हैन, फिल्म हेर्दा खर्च भएको पैसा र समय सम्झिएर हो।

कथा नयाँ हैन, नेपालको पश्चिमाञ्चल क्षेत्रमा कुनै समय प्रचलनमा रहेको देउकी प्रथामाथि नै हो। छोरा जन्मियो भने गाउँमा राजा भएर राज गर्छ, छोरी जन्मिई भने कुलको इज्जतका लागि बलि दिइन्छ भन्ने कथामा नै फिल्म ‘मोहर’ बनेको छ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले परम्परामा मात्रै हैन अहिले अहिले पनि खानदानी घरहरूमा छोरीलाई बलि चढाउने गरेको कथा भन्ने प्रयास गर्छ।

निर्देशक तथा लेखक ओम प्रतिकले पल शाह, नीति शाह, बेनिशा हमाललाई केन्द्रमा राखेर पस्किएको कथाको स्तर सामान्य भन्दा पनि तल्लो तहको देखिन्छ। फिल्मको प्रचार परिवारसहित हेर्न सकिनेगरि प्रचार गरिए पनि अति हिंसात्मक दृश्य समेत राखिएकाले यो परिवारसहित हेर्न सकिने फिल्म हैन। बच्चाहरूलाई हलमा सँगै लैजानु वा हिंसात्मक दृश्य हेर्दा ऐँठन हुने दर्शकहरू हलबाट टाढै रहेको बेस।

अब लागौँ कथासारतर्फ

पश्चिमको एक गाउँमा सरकार चन्द (अर्जुन जङ्ग शाही) को राजकाज चल्छ। आफूलाई मन नपरेकालाई कुट्नु, मार्नु उनका लागि सामान्य हो। यता उनकै गाउँकी युवती सिन्दुरी (नीति शाह)सँग प्रहरी इन्स्पेक्टर सिवल अर्थात् पल शाहसँग नजिकिएका छन्। उनीहरुबी प्रेम चलिरहेको बेलामा सिवल तालिमका लागि काठमाडौं आउँछन्। उता गाउँमा सिन्दुरीको बुबालाई पैसाको लोभमा पारेर महारानीले सिन्दुरीको हात छोराका लागि माग्छिन्। बाध्य पारेर सिन्दुरीको बिहे सरकारसँग हुन्छ।

उनको कोखबाट छोरा जन्मिए राज गर्छ, छोरी जन्मिए भने देउकी चढाउने भन्दै महारानी (लक्ष्मी गिरी)ले भाकल गर्छिन्। नभन्दै छोरी जन्मिन्छिन्। अब के हुन्छ? सिवल गाउँ फर्किन्छन् या उतै बस्छन्? ती बालिका देउकी हुन्छिन् या हुन्नन्? यस्तै कथाको वरपर फिल्म घुमेको छ।

सबल पक्ष

फिल्मको सबल पक्ष कथाको विषयलाई मान्न सकिन्छ। फिल्मको अन्य पक्षको तुलनामा सिनेमाटोग्राफीमा मिहेनत देखिन्छ। केही कलाकारको अभिनयले फिल्मलाई केही हदसम्म बलियो बनाउने प्रयास गरेको छ। फिल्मको केही भागले दर्शकको मन चस्स पार्न सक्छ। यो भन्दा अन्य सबल पक्ष माइक्रोस्कोप लगाउँदा पनि भेट्न मुस्किल पर्यो। लक्ष्मी गिरीको अभिनय फिल्मको सबैभन्दा बलियो पक्ष मान्न सकिन्छ।

दुर्बल पक्ष

देउकी प्रथालाई लेखकले मूल कथा बनाउने प्रयास गरेका छन्। प्रारम्भदेखि अन्त्यसम्म फिल्मको केन्द्र त्यही प्रथा नै रहेको छ। तर देउकी प्रथा हो चैँ के? दर्शकले अनुभव नै गर्न पाउँदैनन्। छुस्स मात्र छोएको छ कथामा। फिल्मले यो पक्षलाई राम्रोसँग उजागर गर्न सक्थ्यो। तर निर्देशक पनि त्यतातिर लागेका छैनन्।

फिल्मको केही भाग आकर्षक नभएका हैनन् तर त्यसले फिल्ममा निरन्तरता पाउन सकेको छैन। मध्यान्तरसम्म कथाको कथ्यशैली र सुस्तताले दर्शक निदाउने जोखिम छ। मध्यान्तरसम्म दर्शक हलमा टिके भाग्य।

सिवल र टिके अर्थात् पल र रवीन्द्र झा जङ्गलमा सिकार गर्न जान्छन्। उनीहरू सिकार गर्दाको त्यो क्षण भाँडाकुटी खेलेझैँ दृष्यांकन गरिएको छ। बनपालेले बन्दुक सहित फेला पार्दा होस् या बन पालेको घरमा राखेको गैँडाको खाग चोर्दा होस् ती कुनै पनि दृश्यले फिल्मलाई बलियो बनाउन सकेको छैन। फिल्मको लम्बाई बढाउन मात्रै योगदान दिएको छ।

फिल्मको समय लम्ब्याउन निर्देशकले फिल्मका मुख्य पात्रलाई कहिले मालवाहक ट्रकमा कुदाएको कुदाई गराउँछन्। धेरैजसो उनीहरू जंगलकोबीचमा रहेको एउटा छाप्रोमा बस्छन्। तर त्यो गाउँबाट नजिकै देखिन्छ।

निर्देशकले पलले फरक फरक बाटोमा मालवाहक गाडी कुदाएको भ्रम दिने प्रयास गरे पनि दर्शकले उनी एउटै बाटोमा ओहोरदोहोर गरेको सहजै थाहा पाउँछन्।

पहिलो फाइटको दृश्यमा राखिएको साउन्ड मकै पड्किए जस्तो सुनिन्छ। कथाभित्र उपकथा मिसाउँदा फिल्मको कथ्यशैली नै पन्चट भएको छ। निर्देशकलाई गजब गरेँ भन्ने लागेको होला तर सबैभन्दा कमजोर पक्ष नै उपकथा हो।

निर्देशक कलाकार छनोटमा पनि चुकेका छन्। पललाई दिइएको भूमिकामा उनी फिट नै देखिँदैनन्। उनको बोली स्पष्ट नसुनिँदा कतिपय ठाउँमा के भनेको हो बुझ्न पनि कठिन हुन्छ।

अभिनयको पक्ष हेर्दा बेनिशाले शारदा पात्रलाई न्याय गर्ने प्रयास गरेकी छिन्। यस अगाडिका फिल्मका उनका अभिनयको तुलनामा यसमा केही हदसम्म सुधार देखिन्छ। अर्की अभिनेत्री नीतिको अभिनयको स्तर खजुरे ब्रोबाट अगाडि बढ्न सकेको छैन। पुरै नौटंकीपारा देखिन्छ उनको अभिनय। संवाद शैलीमा भने हल्का सुधार देखिन्छ।

फिल्मका मुलपात्र पलको अभिनयमा कुनै सुधार देखिन्न। उनी निरन्तर एकै लयमा देखिन्छन्। कथामा आउने उतारचढावको प्रभाव उनको मुहारमा देखिन्न। फ्ल्याट देखिन्छ उनको अभिनय। फिल्ममा समावेश गीत ‘चाहिँदैन मोहर चाहिँदैन सुकी’,‘ झुमझुम झुम्कीका’र अर्को गीत ‘तिमीसँग पुग्ने बाटो’ ठिक सुनिएका छन्।

फिल्मको सम्पादन पक्ष वाह लायक छैन। मध्यमस्तरको देखिन्छ। ब्याकग्राउण्ड म्युजिक, स्कोरमा दम पुगेको देखिएन। फिल्ममा पात्र त रुन्छन् तर दर्शकको किन रोएको होला भनेर छक्क पर्न सक्छन्।

फिल्मको केन्द्रीय कथा छुस्स छोएर उपकथाहरूको पहाड लगाउँदैमा फिल्म हेर्न लायक बन्दैन। मूल कथा जे हो त्यो दर्शकलाई बुझाउने जिम्मेवारी निर्देशकको हो। यो मामिलामा निर्देशक पुरै चुकेका छन्।

यही देउकी प्रथासँग सम्बन्धित मोहरसँग लगेर फिल्मको नाम राखिएको छ। तर त्यो मोहर प्रथा पनि के रहेछ दर्शक अलमल अलमलमै हलबाट बाहिरिन बाध्य छन्।

प्रेमका संवादहरू समय अनुसार बदलिएका छन्। तर फिल्ममा अति क्लिसे संवादहरू रहेका छन्। प्रेमका दृश्यहरू मन छुने र दर्शक अँ यति भएपछि त माया बसिहाल्छ नि भन्ने तहमा कन्भिन्स हुने तहमा हुनुपर्ने हो। तर छैन। अपरिचित भेटेर, दुई चार प्रेमिल संवाद बोलेकै भरमा प्रेम बस्छ।

प्रेम? अरे वन नाइट स्ट्यान्डको कथा भन्न खोजेको हो भने ठिकै छ। तर गम्भीर प्रेम भेटे लगत्तै, बोले लगत्तै? यसले नै फिल्मको लेखन कुन तहसम्मको कमजोर छ भन्ने देखाउँछ नै। कथालाई निर्देशकले दृश्यमार्फत बलियो बनाउन सक्थे। तर उनी पनि यसमा नराम्रोसँग चुकेका छन्।

अनि फिल्मको क्लाइमेक्स…..अब पुरै फिल्म यति झुर भएपछि फिल्मको क्लाइमेक्समा चमत्कार सम्भव छ र?

सरी पल, यो फिल्मले पनि तिम्रो अभिनय यात्रा डुबाउने नै भयो। फिल्म बबाल छ भनेर हल्ला गराएको भरमा मात्र चल्न सम्भव छैन। यसका लागि फिल्ममा अभिनय, कथ्यशैली लगायतका सबै पक्ष पनि बलियो हुनु पर्यो नि। यो फिल्म रावायण जत्तिकै डिजास्टरै त छैन तर पलको डुब्दै गएको अभिनय यात्र उकास्ने तहको पनि छैन। तर हौसला बाँकी छ भने ट्राई अगेन प्लिज पल।

साउन २६, २०८२ सोमबार २१:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।