बेच्न तयार पारिएको ‘ब्राउन सुगर’ सहित दुई युवक पक्राउ

काठमाडौं : सोमबार साँझ काठमाडौं-३१ बानेश्वरको बाशुकी मार्गमा सशस्त्र प्रहरीले छापा मारेर दुई युवकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा धनकुटा पाख्रीवास-५ का ३१ वर्षीय डिल्ली बहादुर कटुवाल र झापा भद्रपुर-२ का ३० वर्षीय शैलेस थापा मगर रहेका छन्।
उनीहरूबाट करिब ३०.१५ ग्राम ब्राउन सुगर, ३ पोका गाँजा, ब्राउन सुगर तौल्ने तराजु १ थान, मोबाइल ४ थान, नगद १२ हजार ४५० रुपैयाँ र एक मोटरसाइकल बरामद भएको सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्यूरोले जनाएको छ।
बाशुकी मार्गको एउटा घरभित्र लागुपदार्थ बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई समातिएको हो। उनीहरूले सिरहाको गोलबजारबाट ब्राउन सुगर ल्याएर काठमाडौंमा बिक्री गर्दै आएको खुलेको छ। बरामद सामानसहित उनीहरूलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
साउन २६, २०८२ सोमबार २१:२३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।