रुपन्देही-३ मा एमालेबाट चारजना आकांक्षी, भट्टराई र पौडेलको दाबेदारी बलियो

बुटवल : उपनिर्वाचनको मिति नजिकिदै गर्दा रुपन्देही-३ मा दलहरूले उम्मेदवार चयन गर्ने प्रक्रिया थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकांक्षी उम्मेदवारको सूची सार्वजनिक गरेर छलफलमा गइसकेको छ भने सत्तारुढ दल नेकपा एमालेले पनि उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको छ।
त्यसका लागि एमालेले क्षेत्रीय समन्वय कमिटी बैठक गत शुक्रबार डाकेको थियो। उक्त बैठकमा चार नेताले कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि आकांक्षा देखाएका छन्।
पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर प्रमुख तथा प्रदेश सदस्य हरिप्रसाद अधिकारीले उम्मेदवार बन्ने आकांक्षा देखाएका हुन्।
एमालेले जिल्ला कमिटिलाई एक महिला सहित ३ जनाको नाम सिफारिस गर्न भने पनि अहिले सम्म महिला नेतृले भने आकांक्षा देखाएका छैनन्। एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको छ।
उपनिर्वाचनका लागि एमाले केन्द्रले भदौ १५ गते भित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन समयसीमा तोकेको छ। पार्टी केन्द्रीय कमिटी बैठकले एक महिला सदस्यसहितको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुई जना पुरुष र एक जना महिलाको नाम पठाइने पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेले बताए।
आकांक्षा देखाएका मध्ये भट्टराई र पौडेलको सम्भावना बलियो छ। राष्ट्रिय सभाका पूर्व सदस्य रहेका भट्टराई २०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र-५ बाट उम्मेदवार बन्न चाहन्थे। उनले उम्मेदवारी दर्ता पनि गराएका थिए। तर, एमालेबाटै तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरेले पनि रुपन्देही-५ मा उम्मेदवारी दर्ता गरेको र निर्वाचन आयोगले उनैको उम्मेदवारी कायम गरेपछि भट्टराई पछि हटेका थिए। यस पृष्ठभूमिमा अहिले रुपन्देही-३ मा उनको सम्भावना बलियो देखिएको हो।
त्यस्तै व्यवसायी शशि पौडेलेको पनि सम्भावना बढी छ। गाईपालनबाट नाम र दाम दुवै कमाएका पौडेल पार्टी र संगठन भित्र सक्रिय छन्। अहिले सम्म राजनीतिक नेतृत्वमा प्रत्यक्ष लाभ नलिएको कारणले पनि उनको दाबी प्रबल मानिएको छ।
२०७९ को निर्वाचनमा राप्रपाका दीपक बोहरालाई साझा उम्मेदवार बनाएको एमाले यसपटक सो क्षेत्रमा एक्लै निर्वाचनमा जाने तयारी गरिरहेको छ। हाल नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि एमालेले निर्वाचनमा एक्लै अगाडि बढ्ने योजना बनाएको छ।
२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त पद रिक्त भई उपनिर्वाचन हुन लागेको हो।
राप्रपाबाट ६ जनाको नाम सिफारिस
रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ जनाको नाम सिफारिस गरेको छ।
राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टी केन्द्रीय सदस्य द्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलिपकुमार मल्लिकको नाम सिफारिस गरेको हो।
साउन २६, २०८२ सोमबार २१:१४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।