प्रतिकूलतालाई चिर्दै पुनर्जीवन पाएको ‘लियो’

प्रतिकूलतालाई चिर्दै पुनर्जीवन पाएको ‘लियो’

गोरखा : तस्बिरमा देखिएको चितुवाको बच्चालाई कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रका कर्मचारी र वन विभागका टोलीले माया गरेर ‘लियो’ नाम दिएका छन्। गत माघ २१ गते गोरखाको पालुङटार नगरपालिका-१० मिरकोटको सामुदायिक वनमा मरणासन्न अवस्थामा भेटिएका लियोको जीवन अहिले सुरक्षित छ।

करीब तीन हप्ताको उमेरमा लियोलाई स्थानीयले जंगलमा रुँदै गरेको अवस्थामा पारेका थिए। उसको आमा र अर्को बच्चा नजिकै मृत फेला परेका थिए भने लियो मात्र पिलपिलाउँदै बाँचिरहेको अवस्था थियो। स्थानीयले तत्कालै डिभिजन वन कार्यालय गोरखामा बुझाए।

डिभिजन वन कार्यालयका प्रमुख मदन मोहन शाण्डिल्यका अनुसार घटनास्थलमा लियोकी आमा र अर्को बच्चाको शव भेटिएको थियो भने लियो कराउँदै, रुँदै बाँचिरहेको थियो। समयमै स्थानीय, वन कार्यालय र वन्यजन्तु विज्ञको सहकार्यमा उद्धार भएकै कारण उसको ज्यान जोगिएको उनले बताए।

लियोकी आमा र अर्को बच्चाको मृत शरीर बेलायतको केन्ट विश्वविद्यालयकी विद्यावारिधि शोधार्थी तथा वन्यजन्तु पशु चिकित्सक डा. जेसिका बोडजीनरले परीक्षण गरिन्। उनले प्रतिवेदनमा ती दुवैको मृत्यु भाले चितुवाको आक्रमणका कारण भएको अनुमान गरिएको छ। उनका अनुसार बाघ वा चितुवाजस्ता ठूला बिरालो प्रजातिमा ‘इनफ्यान्टिसाइड’ भन्ने व्यवहार हुन्छ, जसमा भालेले आफ्नो नभएका बच्चा मारेर पोथीलाई पुनः प्रजनन अवस्थामा ल्याउने प्रयास गर्छ। सम्भवतः लियोको अर्को सहोदर शावक भालेको आक्रमण र त्यसपछि भोकका कारण मरेको हुनसक्ने अनुमान गरिएको छ।

सुरुमा लियोको स्वास्थ्य अवस्था यति नाजुक थियो कि चिकित्सकहरू पनि बाँच्नेमा ढुक्क थिएनन्। ‘हाम्रा कर्मचारीले भेट्दा, ऊ दुई दिनभन्दा बढी बाँच्ला भन्ने लागेको थिएन्,’ शाण्डिल्य भन्छन्, ‘तर अहिले ऊ स्वास्थ्य लाभ गर्दैछ भन्ने खबर हामीलाई अत्यन्तै खुशीको कुरा हो।’ 

गोरखामा प्राथमिक उपचारपछि लियोलाई थप उपचार र संरक्षणका लागि कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रमा सारियो। त्यहाँ डाक्टर किशोर आचार्यको नेतृत्वमा २४ सै घण्टा हेरचाह गरियो। बोतलबाट दूध खुवाउनेदेखि दिसा-पिसाब गराउनेसम्म। डा. आचार्य भन्छन्, ‘लियो बाँचेको कुरा आफैँमा उद्धार केन्द्रको टिमको समर्पण र मेहनतको प्रमाण हो। टुहुरा चितुवा शावकलाई हातले हुर्काउनु अति चुनौतीपूर्ण हुन्छ र धेरैजसो बाँच्दैनन्। भारतमा भएका यस्तै प्रयासका तथ्याङ्कअनुसार ५० प्रतिशतभन्दा बढी हातले हुर्काइएका चितुवा बच्चाहरू मर्छन्, तर लियोले सबै प्रतिकूलतालाई जित्यो।’ 

सुरुमा उसको विकास ढिलो भए पनि अहिले स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। हाल उसको तौल १२ किलोग्राम पुगेको छ, जुन उमेरअनुसार स्वस्थ मानिन्छ। हालसालै गरिएको स्वास्थ्य परीक्षण र एक्स–रेमा पनि कुनै छातीसम्बन्धी समस्या नभएको पुष्टि भएको छ।

लियोको बढ्दो आकारलाई ध्यानमा राख्दै, वाइल्ड टाइगरका संरक्षणकर्मी ज्याक किनरोसले जेन गुडअल इन्स्टिच्युटसँग सहकार्य गर्दै नयाँ घेराबार प्रणाली बनाउनका लागि आर्थिक स्रोत जुटाएका छन्। यसले भविष्यमा लियोलाई प्राकृतिक आवासमा पुनःस्थापना गर्न सकिन्छ कि भन्ने मूल्याङ्कन प्रक्रिया अघि बढाउने लक्ष्य राखिएको छ।

कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्ले भन्छन्, ‘लियोको सफल उद्धार र पुनःस्थापना सबैको सहकार्यको उत्कृष्ट उदाहरण हो। स्थानीय, वन कर्मचारी र पशु चिकित्सकबीचको समन्वयले उसको नयाँ जीवन सम्भव भएको हो।’ 

हाल लियोलाई पोखरा जुलोजिकल पार्कमा विशेष निगरानीमा राखिएको छ। उसको संघर्ष र सफलताको कथा अहिले नेपालभरिका संरक्षणकर्मीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

साउन २६, २०८२ सोमबार २०:२२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।