घर र सरकार दुबै सम्हाल्ने दुई थारू महिला जो खेतदेखि कार्यपालिकासम्म उत्तिकै सक्रिय छन्

घर र सरकार दुबै सम्हाल्ने दुई थारू महिला जो खेतदेखि कार्यपालिकासम्म उत्तिकै सक्रिय छन्

सुर्खेत : बिहानको घामसँगै घरको काम र खेतबारी सम्हाल्दै दिन सुरु हुन्छ, दिउँसो भने नगरपालिकामा जनताको काम गर्ने जिम्मा। यो दैनिकी हो वीरेन्द्रनगर नगरपालिका-२ की ४६ वर्षीया सरिता चौधरीको, जो हाल नगर कार्यपालिका सदस्य छिन्।

२०७४ मा पहिलो पटक वडाबाट महिला सदस्य निर्वाचित भएकी सरिताले पाँच वर्षको कार्यकाल सकिएपछि २०७९ मा पहिलेभन्दा बढी मत ल्याएर पुनः निर्वाचित भइन।  

‘साँझ-बिहान खेतमा तरकारी लगाउँछु, दुई कट्ठा जमिनबाट वर्षको करिब दुई लाखसम्म आम्दानी हुन्छ,’ सरिता भन्छिन्, ‘बाँकी समय जनताको काम गर्छु। कार्यपालिकाबाट साढे ११ हजार मात्र पाउँछु, तर जनताको समस्या समाधान गर्दा सन्तुष्टि मिल्छ।’ 

आफ्नो औपचारिक शिक्षा पहिलो कक्षा भन्दा अगाडि बढाउन नपाएकी सरिताले छोराछोरीलाई भने उच्च शिक्षासम्म पढाइन्। १८ वर्ष नपुग्दै विवाह भएकी उनले परिवार र श्रीमानको सहयोगका कारण राजनीति सम्भव भएको बताउँछिन्।
२०६६ सालमा एमाले सदस्यता लिँदै राजनीतिमा प्रवेश गरेकी उनले पहिले समाजमा दिदीबहिनीको रूपमा मात्र पहिचान पाए पनि निर्वाचित भएपछि ‘कार्यपालिका सदस्यज्यू’ भनेर सम्मान गर्न थालिएको अनुभव सुनाइन्।

पहिलो कार्यकाललाई ‘काम सिक्ने समय’ मानेकी उनले अहिले योजना छनोट, नीति निर्माणदेखि प्रशासनिक काममा सक्रियता बढाएकी छन्।

थारु समुदायमा हुने सिकलसेल रोगको परीक्षण र उपचार, विपन्न बालबालिकालाई छात्रवृत्ति, महिला, दलित र सिमान्तकृत समुदायका अधिकार, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता पूर्वाधार निर्माणलाई उनले प्राथमिकता दिएकी छन्।

पार्टीभित्र आफ्नो आवाज पहिलेभन्दा बढी सुन्ने भएको र आगामी चुनावमा वडा अध्यक्षका लागि उम्मेदवारी दिने इच्छा रहेको सरिताले बताइन्। ‘दुई पटक जनताको मन जितिसकेँ, अब अझै ठूलो जिम्मेवारी लिएर राम्रो काम गर्न चाहन्छु,’ उनी भन्छिन्।


स्वास्थ्य स्वयंसेविका लक्ष्मी जनप्रतिनिधि बनेपछि पढ्न थालिन्  

वीरेन्द्रनगर नगरपालिका-१० की ४१ वर्षीया लक्ष्मी चौधरी पनि नगर कार्यपालिका सदस्य हुन। उनी पनि २०७९ सालमा वडा नम्बर १० बाट महिला सदस्यमा निर्वाचित भइन्। पछि उनी कार्यपालिका सदस्य पनि निर्वाचित भइन्। उनी पहिलो पटक कार्यपालिका सदस्य भएकी हुन्।

लक्ष्मीको दिनचर्या पनि सरिताको जस्तै छ। बिहान छोराछोरीलाई विद्यालय पठाउने, खेतबारी लगाउने लगायतका घरायसी काममा व्यस्त हुन्छिन्। तर यसमा उनलाई कुनै पश्चाताप छैन, बरु गर्व छ। दुई ठाउँको जिम्मेवारी पूरा गर्दा पनि आफूलाई आनन्दित हुने गरेको उनी सुनाउँछिन्।

‘घरको काम त बानी नै हो, तर अब जनताको काम पनि मेरो दैनिकीमा अटाएको छ,’ लक्ष्मी भन्छिन्, ‘नगरका बैठक, योजना निर्माण, र सेवाग्राहीसँगको भेटघाटले दिन गयो भनेर थाहा नै हुँदैन। समय व्यवस्थापन गर्न सके घर र बाहिर दुवै जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने कुरा मैले जनप्रतिनिधि बनेपछि अझ राम्ररी बुझेँ।’

उनी २०६६ सालमा नेकपा एमालेमा संगठित भइन्। त्यसभन्दा पहिले खुद्रा पसलको व्यापार गर्थिन्। १० वर्षसम्म स्वास्थ्य स्वयंसेविका भएर काम गरेको अनुभव पनि उनीसँग छ।

जनताको समस्या तत्काल समाधान गर्न नसक्दा कहिलेकाहीँ आलोचनापनि सुन्ने गरेको लक्ष्मीले बताइन्। ‘कहिलेकाहीँ गाउँ समाजका मान्छेको माग एउटै हुन्छ। निर्णय अर्कै भइदिन्छ। त्यति बेला आलोचना हुन्छ,’ उनले भनिन्, ‘त्यस्तो बेला विकासको गति सबैको अपेक्षा अनुसार छिटो हुँदैन, प्रयास जारी छ भनेर सम्झाउनुपर्छ।’

उनलाई लाग्छ थारू समुदायका महिलाहरूको चुनौती भनेको समयको व्यवस्थापनसँगै नीति निर्माणमा आफ्नो आवाज सहजै पुग्न नसक्नु हो। ‘हामी थारू समुदायका महिलाहरू क्षमतामा र नेतृत्वमा कमजोर छैनौं भन्ने देखाउन चाहन्छौं। तर हामीलाई हरेक कुराले समस्या पार्छ। पढाइ लेखाइदेखि समुदायको विभाजनले गर्न खोजेको काम गर्न सकिँदैन।’

कार्यपालिकामा योजना पास गर्ने मात्र नभएर महिलालाई सचेत पार्ने, अधिकारका विषयमा जागरूक बनाउने र सामाजिक समानताको मुद्दा उठाउने काम गरिरहेको उनको भनाई छ।

उनको घरमा छोरा, बुहारी र ससुरासहित ६ जनाको परिवार छ। उनका श्रीमान् एयरपोर्टमा काम गर्छन्। जेठा छोरा नेपाल प्रहरी छन्। कान्छा छोरा बुलबुले उद्यानमा काम गर्छन्। १४ वर्षको उमेरमा विवाह गरेकी लक्ष्मीले सात कक्षासम्म मात्रै पढ्न सकेकी थिइन्।

जनप्रतिनिधि भइसकेपछि उनले एसइइसम्मको पढाइ पूरा गरेकी छन्। छोराहरूले पनि उच्च शिक्षा अध्ययन गरिसकेका छन्।

जनप्रतिनिधि हुँदा पार्टी र समाजले सकारात्मक रुपमा हेरेको लक्ष्मीले सुनाइन्। ‘पार्टीले पनि हामीलाई प्राथमिकताका साथ हेर्छ। नगरमा हुने हरेक योजना छनोटमा हामीले भनेका विषयहरू समेटिन्छन्,’ उनले भनिन्, ‘समुदाय भित्र पिँधमा रहेका वर्गहरूको हितमा काम गर्दै आएका छौं। निःशुल्क स्वास्थ्य बिमा, अपाङ्गता परिचयपत्र, सिकलसेल लगायतका कामहरू भएका छन्।’

नगरबाट प्रवाह हुने नीति निर्माणमा समेत अनुभव भइसकेको भन्दै आगामी निर्वाचनमा फेरि नेतृत्व तहमा अगाडि बढ्ने उनले बताइन्।

०००

वीरेन्द्रनगरका यी दुई थारू महिला जनप्रतिनिधिले घरायसी जिम्मेवारी र जनताको सेवा एकसाथ गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्।

थारू समुदायका महिलाहरू राजनीतिमा चासो नदेखाउने भएकाले पनि आफ्नै प्रतिनिधित्वले उनीहरूलाई समेत राजनीतिमा आउन प्रेरणा मिल्ने उनीहरू बताउँछन्।

वीरेन्द्रनगरका महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि दलित महिला केन्द्र नेपालले निरन्तर मेन्टरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अहिले वीरेन्द्रनगरका १६ वटा वडाहरूमध्ये दुई वडामा थारू समुदायबाट दुई जना पुरुष र महिलाबाट दुई जना कार्यपालिका सदस्य गरी चार जनाको उपस्थिति छ।

कर्णाली प्रदेशमै थारूको बसोबास भएको एकमात्र जिल्ला हो सुर्खेत। सुर्खेतमा पनि वीरेन्द्रनगर नगरपालिका मा यो जातिको बसोबास छ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं २, ३, ८, ९, १०, ११ र १२ मा थारू बस्ती छ। यो समुदायको जनसंख्या ६,१११ रहेको छ।

साउन २६, २०८२ सोमबार १९:३१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।