कर्णालीमा ‘राउटे करिडोर’ निर्माण हुँदै

सुर्खेत : कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण तथा संवर्द्धनका लागि ‘राउटे करिडोर’ निर्माण गर्ने योजना अघि बढाएको छ।
चालु आर्थिक वर्ष २०७९/२०८० मा तयार पारिएको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस र विगत १० वर्षमा राउटे समुदायको बसोबासस्थलको नक्साङ्कनका आधारमा यो करिडोर स्थापना हुने भएको हो।
राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका पहाडी क्षेत्रमा अस्थायी टहरा बनाएर बसोबास गर्छन्। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले चालु आर्थिक वर्षको आफ्नो एक वर्षे कार्यप्रगति सार्वजनिक गर्दै, राउटे संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि करिडोर निर्माण गरिने जानकारी दिए।
यस करिडोर अवधारणामा राउटे बसाइ सर्ने क्षेत्रहरू समेटिनेछन् र राउटे समन्वय समितिको निर्णय अनुसार प्रोफाइल प्रकाशन, विकास साझेदारहरूसँग समन्वयमा पोषणयुक्त खाद्य सामग्री वितरण, राउटेका लागि प्रादेशिक तथा अन्य सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिनेछ।
त्यस्तै, करिडोरमार्फत राउटे बालबालिकालाई शिक्षा पहुँच गराउन आवश्यक सामग्री विकास तथा वितरण गरिनेछ भने उनीहरूको क्षमता विकासका कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ। साथै, राउटे संरक्षणका लागि समानुकूल कानुनी व्यवस्था पनि गरिने सामाजिक विकासमन्त्री भण्डारीले जानकारी दिए।
मन्त्री भण्डारीले राउटे समुदायलाई नेपालको मौलिक सांस्कृतिक सम्पदा भनेका छन् र उनीहरूको संरक्षण र सशक्तीकरणमा राज्य तथा समाज दुवैको साझा जिम्मेवारी रहेको बताए। आधुनिक शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधारको पहुँच न्यून भए तापनि सरकारले विभिन्न भत्ता, स्वास्थ्य परीक्षण र जीवनस्तर सुधारका कार्यक्रममार्फत उनीहरूलाई समावेश गर्न प्रयासरत रहेको उल्लेख गरे।
गत आर्थिक वर्षमा राउटे समुदायलाई लत्ताकपडा, त्रिपाल, खाद्यान्न सामग्रीजस्ता आवश्यक सहायता उपलब्ध गराइएको र विभिन्न गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर उनीहरूलाई मुख्यधारामा ल्याउने प्रयास जारी रहेको मन्त्री भण्डारीले बताए।
राउटे समुदायको मुख्य जीविकोपार्जन काठका सामग्री बनाएर विनिमय प्रणाली मार्फत अन्न वा अन्य आवश्यक सामग्री प्राप्त गर्नु हो। कृषि, पशुपालन वा स्थायी रोजगारीमा उनीहरूको संलग्नता छैन। उनीहरूको भाषा अलग छ र मौखिक परम्परा, नृत्य र गीतमार्फत सांस्कृतिक अभिव्यक्ति गर्ने यस समुदायको नेतृत्व मुखियाले गर्छन्। कल्याल, सोवंशी र रास्कोटी गरी तीन थरका राउटेहरूको हाल संख्यामा १३५ व्यक्ति रहेका छन्।
साउन २६, २०८२ सोमबार १७:५६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।