काठमाडौं महानगरद्वारा मापदण्ड विपरीतका पानीका जार नष्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाले बर्खायाममा पानीजन्य रोगको जोखिम कम गर्न प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्र पारेको छ।
महानगरको अनुगमनमा गत एक हप्तामै मापदण्डविपरीतका २७१ जार बरामद गरी नष्ट गरिएको छ। महानगर प्रहरी बलको सहयोगमा गरिएको कारबाहीमा आषाढ र श्रावण महिनामा मात्र १३९ गाडीबाट ४५६ जार बरामद गरेर नष्ट गरिएको थियो।
पानीको गुणस्तर सुनिश्चित गर्न बरामद जारका नमुनाहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।
चालु आर्थिक वर्ष सुरु भएपछि बल्खु, चाबहिल-चुच्चेपाटी, माछापोखरी-बालाजु, कोटेश्वरलगायतका क्षेत्रमा चेकपोस्टमार्फत खानेपानी बोक्ने गाडीहरूको निरीक्षण भइरहेको छ।
यो अभियान कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा सञ्चालन भइरहेको हो।
साउन २६, २०८२ सोमबार १५:५८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।