२५० क्षमताको भैरहवा कारागारमा ६२८ कैदीबन्दी, दिसापिसाव गर्न समेत मुस्किल

बुटवल : रुपन्देहीको भैरहवा स्थित जिल्ला कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी राखेको पाइएको छ। कारागारको क्षमता २५० भएपनि अहिले कारागारमा ६२८ जना कैदीबन्दी र थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ।
क्षमता भन्दा तीन गुणा बढि कैदीबन्दी कारागारामा भएपछि व्यवस्थापन गर्न कठिनाइ भएको छ। कारागार प्रशासक सुरेश भण्डारीले क्षमता भन्दा बढि कैदीबन्दी र थुनुवा रहँदा व्यवस्थापनमा असहज भएको बताए।
भैरहवा देशकै धेरै गर्मी हुने दोस्रो स्थान पर्दछ। गर्मीयाममा कैदीबन्दीहरूलाई बढि सकस हुने उनले बताए। कारागारको भवन समेत गतिलो छैन। भवन समेत जीर्ण छ। शौचालयको समेत पर्याप्त व्यवस्था छैन। खानेपानी समेत अपर्याप्त छ। ९२ वर्ष अघि रुपन्देही कारागारको भवन निर्माण भएको थियो।
बारम्बार हुने मानवअधिकार आयोगको अनुगमनले क्षमता अनुसार कैदीबन्दी राख्न निर्देशन दिएपनि यसको सुनुवाइ भएको छैन। कैदीबन्दीलाई सुत्न समेत कठिनाइ छ। १६ वटा मात्र शौचालय भएकाले दिसापिसाव गर्न समेत राम्रो सँग पाउँदैनन्।
कारागार परिसर बर्खायाममा ढलले डुवानमा पर्छ। भवन समयमा मर्मत नहुँदा जीर्ण बन्दै गएको छ। कारागार परिसरमा ढल निकास नहुँदा दुर्गन्धित छ। प्रशासक भण्डारीले भवन जीर्ण र पर्याप्त नहुँदा व्यवस्थापनमा कठिनाइ भएको बताए।
कारागारलाई सरकारले सुधारगृह भन्छ। जहाँ विभिन्न आपराधिक घटनामा संलग्नहरू कारागार बसेपछि सुध्रिएर फर्किउन भन्ने उद्देश्य हुन्छ। तर, न्यूनतम् मानवअधिकार समेत पालना नगरी कैदीबन्दी राखिँदा उनीहरूमा सुधार भन्दा जोखिम बढिरहेको छ।
क्षमता भन्दा तीन गुणा बढि कैदीबन्दी भएपनि अहिलेसम्म भैरहवा कारागारमा अप्रिय घटना भने भएको छैन। यदि घटना घटिहाले नियन्त्रण बाहिर जान सक्ने अवस्था छ।
साउन २६, २०८२ सोमबार १५:३७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।