पक्राउ परेका राहुल गान्धीले केही दिनअघि निर्वाचन आयोगमाथि लगाएका थिए गम्भीर आरोप

एजेन्सी : मतदाता सूचीको मुद्दामा संसददेखि निर्वाचन आयोगसम्म विरोध मार्च गरिरहेका विपक्षी सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
दिल्लीका डीसीपी देवेश कुमारका अनुसार निर्वाचन आयोगले करिब ३० जना सांसदलाई मात्र भेट्ने अनुमति दिएको भए पनि त्यसभन्दा धेरै संख्या पुगेकाले प्रहरीले नियन्त्रणमा लिएको हो।
निर्वाचन सदनको मुख्य गेटमा पत्रकारलाई जान प्रतिबन्ध गरिएको छ। बीबीसीले एक प्रहरी अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘हामीलाई प्रदर्शनकारीलाई नियन्त्रणमा लिन र मिडियालाई आयोगको मुख्य गेटबाट टाढा राख्न निर्देशन दिइएको छ।’
मार्चको नेतृत्व राहुल गान्धीले गरेका थिए। मार्चमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, एनसीपी प्रमुख शरद पवार, प्रियंका गान्धी लगायतका नेताहरू सहभागी थिए। दिल्ली प्रहरीको अवरोधका बीच पनि सांसदहरूले सरकार र निर्वाचन आयोगविरुद्ध नारा लगाउँदै अगाडि बढ्ने प्रयास गरेका थिए।
प्रहरीले सुरक्षाका लागि ब्यारिकेड र सुरक्षा घेरा कायम गरे पनि विपक्षी सांसदहरूले ब्यारेकेड तोड्दै आयोगतर्फ बढ्ने कोसिस गरे। लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीको नेतृत्वमा संसददेखि आयोगसम्मको मार्चमा सहभागी सांसदहरूले मुख्य चुनाव आयुक्त तथा अन्य दुई आयुक्तसँग भेट्ने समय मागेका थिए।
निर्वाचन आयोगमाथि राहुल गान्धीको गम्भीर आरोप
गत हप्ता बिहीबार एक पत्रकार सम्मेलन गर्दै राहुल गान्धीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका थिए।
उनले लोकसभा चुनाव तथा महाराष्ट्र र हरियाणाको विधानसभा चुनावमा ‘मतदाता सूचीमा ठूला मात्रामा धाँधली’ गरिएको आरोप लगाएका थिए।
‘मेसिन–रीडेबल मतदाता सूची नदिनु नै यो प्रमाण हो कि महाराष्ट्रमा मत ‘चोर्न’ का लागि निर्वाचन आयोगले भाजपासँग मिलेमतो गरेको हो,’ उनले भनेका थिए।
निर्वाचन आयोगले भने राहुल गान्धीका आरोपलाई ‘भ्रम फैलाउने’ किसिमको भएको भन्दै आफ्नो गुनासो लिखित रूपमा कर्नाटकका मुख्य निर्वाचन अधिकृतलाई दिन सुझाव दिएको थियो।
साउन २६, २०८२ सोमबार १५:२०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।