रवि बसेको कोठामा दुईटा पंखा अनि खुला शौचालय, झ्यालको प्लाइउड हटाउन आयोगको निर्देशन

बुटवल : कुनै समय देशको उपप्रधान तथा गृहमन्त्रीको शक्तिशाली पदमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजभोलि भैरहवा कारागारको चार दिवारभित्र आफ्नो दिन काटिरहेका छन्।
सुप्रिम सहकारीको करोडौं रकम ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उनको कारागार-बसाइ कस्तो छ? राष्ट्रिय मानवअधिकार आयोग र अधिकारकर्मीको टोलीले सोमबार यसको निरीक्षण गरेको छ।
आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली र इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोलीले लामिछानेलाई राखिएको कारागारको चार नम्बर ब्लकको निरीक्षण गरेका हुन्।
लामिछानेलाई एउटा छुट्टै कोठामा राखिएको छ, जसको भुइँमा निलो रङको कार्पेट ओछ्याइएको भने छोटो ‘लो बेड’ र एउटा सोफाको व्यवस्था छ।
अध्ययन र लेखनका लागि एउटा टेबल र कुर्सी पनि उपलब्ध गराइएको छ। गर्मीबाट राहत दिन एउटा ठूलो हलमा प्रयोग हुने जस्तो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा पनि उनको कोठामा छ।
उनलाई एउटा रेडियो दिइएको छ भने अध्ययनका लागि किताब र पत्रपत्रिकाहरू मगाएर पढ्ने सुविधा छ। उनले कारागार प्रशासनले उपलब्ध गराउने खानाप्रति सन्तुष्टि जनाउँदै अन्य कैदीबन्दीसरहको खाना खाइरहेको टोलीलाई बताए।
टोलीले अनुगमनका क्रममा सबैभन्दा आपत्तिजनक अवस्था कोठाभित्रै रहेको खुला शौचालयलाई मानेको छ। केही इँटा उठाएर बनाइएको र कुनै पर्दा वा ढोकाले नछोपिएको शौचालय त्यहाँ छ।
त्यस्तै, कोठाको झ्याललाई प्लाईउडले पूर्ण रूपमा बन्द गरिएको थियो, जसका कारण कोठाभित्र प्राकृतिक उज्यालो र स्वच्छ हावा छिर्ने कुनै ठाउँ थिएन।
टोलीले अनुगमन गर्दा लामिछानेले धोएका लुगाहरू कोठामै सुकाइरहेका थिए, जुन राम्रोसँग नसुकेका कारण कोठामा हल्का गन्ध फैलिएको थियो। स्वच्छ हावा र प्रकाशबिनाको बन्द कोठा स्वास्थ्यका दृष्टिकोणले समेत प्रतिकूल मानिन्छ।
कारागार प्रशासनको तर्क र आयोगको निर्देशन
जब आयोगको टोलीले बन्द झ्याल र आधारभूत मानवअधिकार हननको विषयमा प्रश्न उठायो, कारागार प्रशासनले आफ्नो सुरक्षा संवेदनशीलताको कारण प्रस्तुत गर्यो।
जेलरका अनुसार, सीमा क्षेत्रमा रहेको र वरपर घरहरू भएकाले बाहिरबाट ढुंगा प्रहार हुने र विगतमा त्यस्ता घटना भइसकेकाले झ्याल बन्द गर्नुपरेको हो। साथै, खुला झ्यालबाट सर्पदंशको जोखिम पनि उत्तिकै रहेको उनको भनाइ थियो।
यद्यपि, सुरक्षाको नाममा आधारभूत मानवअधिकार खोस्न नमिल्ने अडान लिँदै आयोगको टोलीले तत्काल यसको विकल्प खोज्न निर्देशन दिएको छ।
आयोगले प्लाईउड हटाएर सिसा, बाक्लो जाली वा फलामे रड राखेर भए पनि कोठामा उज्यालो र हावा आउजाउ गर्ने वातावरण बनाउन स्पष्ट निर्देशन दिएको छ। यसमा जेलरले उक्त सुझावलाई सकेसम्म चाँडो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
साउन २६, २०८२ सोमबार १४:२६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।