सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो, तीन जनाको सनाखत

सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो, तीन जनाको सनाखत

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्व-पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। बस र माइक्रोबस एकापसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो।

मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका-६ का ३५ वर्षीय शङ्कर मण्डल, कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको विराटनगर-१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

त्यसैगरी उक्त दुर्घटनामा अन्दाजी ४५/५० वर्षीया एक महिलाको पनि मृत्यु भएको तर उनको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताए।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जादै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र२-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका हुन्। माइक्रोबसमा १८ जना सवार थिए। उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएकाहरुको  सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए। यसैगरी दुर्घटनामा घाइते अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

बस चालक झापाको अर्जुनधारा नगरपालिका-१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन २६, २०८२ सोमबार १३:४२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।