प्रदीप मजगैयाँलाई प्रश्न गरेपछि खेलाडीलाई अध्यक्ष चन्दको सुझाव- ‘क्यानको राजनीतिमा नपर्नु’

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई क्यानभित्रको राजनीतिमा नपर्न सुझाव दिएका छन्।
आइतबार अष्ट्रेलिया उड्न लागेका खेलाडीहरूको बिदाइ तथा राष्ट्रिय टोलीको जर्सीको मुख्य प्रायोजक सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘यहाँहरूको ध्यान राम्रो कसरी खेल्ने, उत्कृष्ट कसरी गर्ने भन्नेमा जानुपर्छ,’ उनले भने, ‘त्रिकेट संंघभित्र भइरहने सानोतिनो नोकझोक, सानोतिनो पोलिटिक्समा नेपाली खेलाडी पर्नुहुन्न। म त्यो सुझाव पनि दिन चाहन्छु।’
उनले ओमानमा हुने विश्वकप छनोटअघि अष्ट्रेलिया हुन गइरहेको टप इन्ड टी२० प्रतियोगिताको भरपूर फाइदा उठाउन खेलाडीहरूलाई आग्रह गरे।
केही दिनअघि चन्दनिकट क्रिकेट संघका सदस्य प्रदीप मजगैयाँले नेपाल टी२० लिगले क्लिन चिट पाइसकेको भनेर अन्तर्वार्ता दिएपछि राष्ट्रिय टिममा सहभागी खेलाडीहरूले त्यसको प्रतिवाद गरेका थिए।
राष्ट्रिय टोलीका खेलाडीहरू करण केसी, भिम सार्की, कमलसिंह ऐरी तथा अन्य खेलाडीहरूले लिग खेलेको ६५ लाख रुपैयाँ आफूहरूले नपाएको अवस्थामा कसले क्लिन चिट दिएको भनेर प्रश्न उठाएका थिए।
सोही प्रसङ्गलाई लिएर अध्यक्ष चन्दले खेलाडीहरूलाई राजनीतिमा नपर्न आग्रह गरेका हुन्।
साउन २६, २०८२ सोमबार १२:५७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।