मुस्ताङ जाने सडकको तीन ठाउँमा पहिरो, राष्ट्रिय राजमार्ग अवरुद्ध

म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले सडक विभाग र बेनी-जोमसोम-कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर खुलाउने प्रयास भइरहेको बताए।
वर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको उनको भनाइ छ। सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ।
प्रतिकूल मौसमका कारण पोखरा-जोमसोम हवाई सेवा पनि बन्द छ। स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकहरू प्रभावित भएका छन्।
साउन २६, २०८२ सोमबार ११:३७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।