१४ वर्षमा पनि बनेन कमला पुल : स्थानीयलाई सास्ती र मनोमानी शुल्कको दोहोरो मार
सिरहा : तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित १४ वर्षअघि निर्माण सुरू भएको सिरहा र धनुषा जोड्ने कमला नदीको पक्की पुल अझै अधुरै छ। २०६८ मा थालिएको ४६९ मिटर लामो यो पुल नबन्दा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न र मनोमानी शुल्क तिर्न बाध्य छन्।
वर्षायाममा नदी पार गर्न बनाइएको अस्थायी बाँसको पुल साउनको तेस्रो हप्ता आएको बाढीले बगाएपछि आवतजावत ठप्प भएको थियो। हाल काठको अस्थायी संरचना बनाइए पनि यात्रा अत्यन्तै जोखिमपूर्ण छ।
सिरहा-६ का स्थानीय प्रवीण यादव भन्छन्, ‘पुल नबन्दा वर्षौंदेखि सास्ती भोगिरहेका छौँ। अहिलेको काठेपुलमा मोटरसाइकल लिएर यात्रा गर्दा झन् डर लाग्छ, तर हामीसँग विकल्प छैन।’
जोखिमपूर्ण यात्रासँगै स्थानीयले चर्को शुल्कको मार पनि खेप्नुपरेको छ। नगरपालिकाले आवतजावत निःशुल्क भएको दाबी गरे पनि रु ५० सम्म असुल्ने गरिएको यादवको गुनासो छ।
उनले भने, ‘पहिले ठेक्कामा रु २० लिइन्थ्यो, अहिले निःशुल्क भनिए पनि शुल्क झनै बढेको छ। यो त जोखिमपूर्ण यात्रा र अनियमित शुल्क असुलीको दोहोरो भार भयो।’
पुल निर्माणको जिम्मा सुरुमा पप्पु-लुम्बिनी जेभीलाई दिइएको थियो। पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको थियो।
तर, हालैको बाढीले पुलका दुईवटा पाया (पिलर) भासिएपछि मर्मतका लागि आवश्यक आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकेको छ।
यता, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले भने निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेको भन्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। कार्यालयका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायका अनुसार लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्न प्रक्रिया थालिएको छ।
कमला नदीमाथिको यो अधुरो पुलका कारण हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती र जोखिमको पर्याय बनेको छ।
साउन २६, २०८२ सोमबार १०:५८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।