बन्धक विपिन जोशीको रिहाइको पहलका लागि इजरायल उडे आमा र बहिनी

बन्धक विपिन जोशीको रिहाइको पहलका लागि इजरायल उडे आमा र बहिनी

काठमाडौं :  हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल उडेका छन्।

उनीहरू सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत त्यसतर्फ लागेका हुन्।

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन २०८० असोज २० गते हमासले आक्रमण गरेदेखि नै परिवारसँग सम्पर्कविहीन छन्।

आक्रमणको केही समयपछि इजरायली सुरक्षा फौज (आईडीएफ)ले हमास लडाकुहरूले उनलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको थियो। त्यसयता उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।

विपिनसहित सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी उक्त कार्यक्रमका लागि २०८० भदौ अन्तिम साता इजरायल गएका थिए। सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको भने ज्यान गएको थियो।

साउन २६, २०८२ सोमबार १०:२०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।