‘जारी २’को ट्रेलरमा ऋचा शर्माको इन्ट्री, दयालाई भनिन्– ‘लिम्बुनीहरू कडा!’

‘जारी २’को ट्रेलरमा ऋचा शर्माको इन्ट्री, दयालाई भनिन्– ‘लिम्बुनीहरू कडा!’

काठमाडौं : ब्लकबस्टर चलचित्र ‘जारी’को सिक्वेल ‘जारी २’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। पहिलो भाग प्रदर्शन भएको साढे दुई वर्षपछि आएको सिक्वेलको टिजरले पुरानै कथाबाट फिल्मले निरन्तरता पाएको देखिन्छ।

सार्वजनिक २ मिनेट ३४ सेकेन्ड लामो टिजरले चलचित्रका मुख्य पात्रहरूबीचको प्रेम, द्वन्द्व र सामाजिक उतारचढावलाई देखाइएको छ। टिजरमा ‘जारी’का अधिकांश पुराना कलाकारका साथै केही नयाँ अनुहारलाई पनि स्थान दिइएको छ।

फिल्ममा अभिनेत्री ऋचा शर्माको प्रवेश भएको छ। टिजरको अन्त्यमा उनी अभिनेता दयाहाङ राईसँगै जाँतो चलाउँदै गरेको दृश्यमा देखिन्छिन्। सोही क्रममा उनले बोलेको संवाद, ‘लिम्बुनीहरू कडा!’ले दर्शकमाझ कौतुहलता जगाएको छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्माका साथै विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा लगायतका कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘जारी २’ आगामी असोज ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।

साउन २६, २०८२ सोमबार १०:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।