‘नेपालीहरू हदै सस्ता गाडी खोज्दैनन्, झकिझकाउ नै चाहिन्छ’

करण चौधरी, नेपाल अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का वर्तमान अध्यक्ष हुन्। सन् २०१९ मा नाडाको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका चौधरीको व्यावसायिक यात्रा लामो र सफल छ। उनी नेपाल ल्युब आयल लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतसमेत भए।
नेपाल खुला विश्वविद्यालयको सेनेट सदस्यका रूपमा समेत सक्रिय रहेका चौधरीले अन्तर्राष्ट्रिय मार्केटिङमा एमबीए र हार्वर्ड बिजनेस स्कुल-अनलाइनबाट ‘डिस्रप्टिभ स्ट्राटेजी’मा मास्टर डिग्री हासिल गरेका छन्।
उनकै नेतृत्वमा नाडाले यस पटक पनि ‘नाडा अटो शो’ आयोजना गर्दैछ। यसै सन्दर्भमा, नाडा अटो शोको पूर्वसन्ध्यामा अध्यक्ष चौधरीसँग प्रजु पन्तले गरेको कुराकानीको सम्पादित अंशः
दुई वर्षअघि तपाईं नाडाको अध्यक्ष बन्दा कोरोनाका कारण बजार उठ्न सकेको थिएन। अटोमोबाइलको बजार नै ध्वस्त भयो भन्ने पनि थियो, अहिले बजारको अवस्था कस्तो छ?
अटोमोबाइलको अहिलेको बजारबारे कुरा गर्नुभन्दा पहिले म कोरोनाकालभन्दा अघिको प्रसङ्गमा जान चाहन्छु। त्यतिबेला बजारको आकर्षण नै अर्कै थियो। कोरोनाको समयमा बजार, बजारजस्तो रहेन।
हामी मानिसहरूबीच भेटघाट नै गर्न नहुने अवस्थामा पुग्यौँ। जब कुनै किसिमको सम्पर्क नै हुँदैन, तब त्यसले बजारलाई नकारात्मक प्रभाव पार्छ नै। त्यसपछि, विदेशी मुद्रा सञ्चिति जोगाउन ल्याइएको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्यो।
अहिले बजार कोरोनाभन्दा अघिको तहमा पुगिसकेको त छैन, तर त्यतैतिर लम्किरहेको छ। म यसमा एकदमै सन्तुष्ट छु। सरकारले बजारलाई गतिशील बनाउन पहल गरिरहेको छ। मौद्रिक नीतिले सोचेजति सहयोग नगरे पनि बजेटले नपेलेका कारण बजार चलायमान छ।
सरकारको कस्तो गतिविधिले अटो बजार पुरानो लयमा फर्कने बाटोमा देखियो त?
नाडा ४९ वर्षे विरासत बोकेको ठूलो संस्था हो। यो सम्पूर्ण अटोमोबाइल क्षेत्रको छाता संगठन हो। हामी ठूलादेखि साना व्यवसायीहरूको जीविकाको सवालमा निरन्तर काम गरिरहेका हुन्छौँ।
हामीले सरकारसमक्ष अटोमोबाइल क्षेत्रको उन्नतिका लागि केही प्रस्ताव लगेका थियौँ, जसलाई सरकारले कार्यान्वयन पनि गर्यो। यसपटक अटो क्षेत्रमा नीतिगत रूपमा सरकारले खासै फेरबदल गरेन। यही नै हाम्रो लागि ठूलो उपलब्धि हो। सरकारले बनिसकेको बजारलाई चलाउन सहयोग गर्यो।
सुरूमा मौद्रिक नीतिले उत्साहित गरेन भन्नुभयो, यसलाई अलि प्रस्ट्याइदिनुस् न!
कोभिडभन्दा अघि अटोमोबाइलमैत्री नीति थियो। विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा यो क्षेत्रले धेरै गुमाउनुपर्यो। अहिले विदेशी मुद्रा सञ्चिति पर्याप्त भएता पनि यो क्षेत्रलाई उकास्ने गरी नीति आएन। तर, मलाई राष्ट्र बैंकप्रति विश्वासै नभएको भने होइन। आगामी दिनमा पक्कै परिवर्तन हुँदै जाला भन्ने आशा छ।
राष्ट्र बैंकले के-कस्ता सुधार गर्नुपर्ने देख्नुहुन्छ?
पहिलो, ‘लोन टु भ्यालु’ को सीमा बढाउनुपर्छ। अहिले गाडी किन्दा ६० प्रतिशत बैंक र ४० प्रतिशत नगदको व्यवस्था छ। यसलाई ८० प्रतिशतसम्म बैंकले ऋण दिनसक्ने र २० प्रतिशत डाउन पेमेन्टमा झार्नुपर्छ। यस्ता केही आधारभूत कुरामा सुधार आवश्यक छ।
कहिलेकाहीँ आउने नीतिहरू समाजको प्रतिबिम्ब नभई पूर्वाग्रही जस्तो लाग्छ। व्यवसायीलाई व्यवसायीकै रूपमा हेरिदिनुपर्यो, चोर र डाँकाको रूपमा होइन।
तपाईंलाई व्यवसायीलाई चोर र डाँकाको रूपमा हेरियो भन्ने लाग्छ?
हो, व्यवसायीलाई हेर्ने दृष्टिकोणमा नै अलि खोट देख्छु म। कहीँ न कहीँ गल्ती गरेको छ भनेर औँल्याउन लागि पर्ने प्रवृत्ति छ। गल्तीलाई गल्तीकै रूपमा लिनुपर्छ, जानाजान गल्ती गरेको हो भनेर मान्नुभएन।
गल्ती मानवीय स्वभाव हो, यो सबैतिरबाट हुन्छ। गल्तीमा माफी पनि हुन्छ। राज्य व्यवसायीप्रति अलि क्रूर हुनुभएन र सोहीअनुसार व्यवहार गर्नुपर्यो।
राज्यबाट कस्तो असहजता भयो, अलि खुलेर भनिदिनुस् न!
व्यवसाय नाफामुखी नै हुन्छ, गैरनाफामूलक हुँदैन। व्यवसायीलाई अनावश्यक दुःख दिनु हुँदैन। जब व्यवसायीलाई अनावश्यक दुःख दिइन्छ, त्यसको असर अन्ततः उपभोक्तालाई नै पर्छ। बैंकहरूलाई राज्यले जसरी संरक्षण गरिरहेको छ, अन्य व्यवसायलाई पनि त्यस्तै व्यवहार गर्नुपर्छ।
अटोमोबाइल क्षेत्रकै कुरा गर्दा, सरकारले बजेटमा ल्याएको युरो ६ को नीति कति व्यवहारिक छ?
यसमा नाडाको स्पष्ट धारणा छ, यो नीति लागू गर्न समय दिनुपर्छ। मेरो कार्यकालभन्दा अघिदेखि नै हामीले समय मागिरहेका हौँ। सरकारले एलसी खोलिसकेका र पैसाको प्रतिबद्धता दिइसकेकालाई छाड्ने निर्णय गरेर राम्रो काम गरेको छ।
तर, अन्यको हकमा यो कति व्यवहारिक छ भन्नेबारे थप अध्ययन हुनुपर्छ। नियम हचुवाको भरमा लागू गरेर हुँदैन। सवारी आयात मापदण्ड लागू गर्नुअघि उपभोक्ताको हितबारे पनि सोच्नुपर्छ। त्यसकारण, युरो ६ लागू गर्न तत्कालभन्दा पनि केही समय दिनुपर्छ।
तपाईंले गत पुसमा सरकारले व्यवसायीलाई सहयोग नगरेको बताउनुभएको थियो। अहिले तपाईंको धारणामा केही परिवर्तन आएको छ कि उस्तै छ?
अहिलेको सरकार केही सकारात्मक देखिएको छ। म खुशी छु।
बजेट आउनुअघि ईभीमा भन्सार शुल्क बढ्छ भन्ने बजारमा हल्ला थियो, जसकारण व्यवसायीले पहिले नै गाडीहरू भन्सारमा ल्याएर राखे। तर, बजेटमा त्यस्तो केही भएन। यसले व्यवसायीलाई घाटा भयो होला नि?
कान्तिपुरले आयोजना गरेको एक समिटमा अर्थमन्त्रीज्यूले भन्नुभएको थियो, मिडिया ‘भाइब्स’को पछि लाग्छ। जब कुनै हल्ला चल्छ, मिडियाले केही कुरा खोज्छ र एक-दुई कुरा भेटेपछि लेखिहाल्छ। भयो पनि त्यस्तै। मिडियाले भन्सार घट्छ भनेर लेख्यो, तर त्यस्तो भएन। तर, भन्सार नघटेर व्यवसायीलाई घाटा भने भएको छैन।
तपाईं अध्यक्ष हुँदा ईभीलाई प्राथमिकता दिन्छु भन्नुभएको थियो, र बजारमा ईभीको उपस्थिति बढेको पनि देखिन्छ। तर, ईभी किन यति महँगो छ?
वास्तवमा ईभी महँगै गाडी हो। अहिले नेपालमा धेरै बिक्री हुनुको कारण सरकारले दिएको सब्सिडी (कर छुट) नै हो। जहाँ-जहाँ सब्सिडी दिइएको छ, त्यहाँ ईभीको बिक्री बढेको छ।
सरकारको नीतिका कारण नै यो सस्तो देखिएको हो। यदि यो नीति स्थिर रह्यो भने ईभीको माग यस्तै रहिरहन्छ। तर, यदि कर १८ प्रतिशतभन्दा बढाइयो भने नेपाली उपभोक्ताले किन्न सक्ने अवस्था रहँदैन।
नेपालमै गाडी एसेम्बल गर्ने विषयमा के-कस्ता प्रगति भएका छन्?
दुई पाङ्ग्रे सवारीमा यसको सुरूवात भएको छ। हाम्रो उद्देश्य सबै सामान बाहिरबाट ल्याएर एसेम्बल गर्ने मात्र होइन, केही पार्टपुर्जाहरू नेपालमै उत्पादन गरेर खपत बढाउने पनि हो।
अहिले गाडीका कतिपय पार्टपुर्जाहरू नेपाली उद्योगीहरूले बनाइरहनुभएको छ, जुन एकदमै राम्रो कुरा हो। एसेम्बलको काम पनि भइरहेको छ, तर सोचेजति हुन सकेको छैन। हामी एसेम्बल मात्रै होइन, उत्पादन नै गर्न सक्छौँ, तर त्यसका लागि वातावरण बनेको छैन।
किन बन्न नसकेको?
गाडी नै बनाउनका लागि सरकारको दीर्घकालीन नीति चाहिन्छ। बजेट र मौद्रिक नीति पनि सोहीअनुरूप आउनुपर्छ। व्यवसायीले गाडी त बेच्छन्, तर उपभोक्ताले खरिद गर्न सक्ने बजार बनाउने काम त सरकारको हो नि!
तपाईं अध्यक्ष हुँदा नाडालाई सबैको साझा संस्था बनाउँछु भन्नुभएको थियो, तर तपाईंको कार्यकालमा अर्को समानान्तर संस्था गठन भयो। नाडा टुक्रियो भन्न मिल्छ?
मेरो तपाईंलाई प्रतिप्रश्न छ- कोही पनि नाडाबाट ‘अब बस्दिनँ’ भनेर जानुभएको छैन, अनि कसरी टुक्रियो? मैले यसलाई टुक्रिएको रूपमा हेरेको छैन। पहिले पनि ईभीको छुट्टै एसोसिएसन थियो। अर्को संस्था गठन हुँदैमा टुक्रिएको भन्न मिल्दैन।
त्यसोभए यसलाई प्रतिस्पर्धाको रूपमा हेर्नुभएको छ?
त्यो पनि होइन। मैले प्रतिस्पर्धा पनि ठानेको छैन, किनभने दुवैतिर साथीहरू नै हुनुहुन्छ। यसलाई टुक्रिएको वा प्रतिस्पर्धामा गएको भनेर हेर्नु आवश्यक छैन जस्तो लाग्छ।
अन्त्यमा, यसपालिको नाडा अटो शो कस्तो हुँदैछ?
नाडाले हरेक अटो शोमा केही न केही नयाँ दिने प्रयास गर्छ। हामी नयाँ प्रविधिहरू भित्र्याउँछौँ र सरकारलाई सोहीअनुसार नीति बनाउन झकझक्याउँछौँ।
यसपटक हामी रोबोटिक्स र उड्ने कार (फ्लाइङ कार) प्रदर्शन गर्दैछौँ। एक लाखभन्दा बढी अवलोकनकर्ता भित्र्याउने लक्ष्य छ। प्रदर्शनी स्थल साँघुरो भएको छ। भक्तपुरको राधे राधेमा गर्ने कि भन्ने पनि थियो, तर लागत व्यवस्थापन गर्नुपर्ने भएकाले हामीले भृकुटीमण्डप नै रोज्यौँ।
यो उड्ने कार वा फ्लाइङ ट्याक्सीको अवधारणा के हो?
फ्लाइङ ट्याक्सी एउटा नयाँ प्रविधि हो। जसरी नाडाले विद्युतीय गाडीलाई नीतिगत रूपमा सहज बनाउन भूमिका खेल्यो, त्यसरी नै यो नयाँ प्रविधिलाई पनि बजारले चिनोस् र भविष्यमा यसका लागि पनि बाटो खुलोस् भन्ने हाम्रो उद्देश्य हो।
नेपालीहरू कतिको ब्रान्ड कन्सियस छन्?
हामी नेपालीहरूले सुरूमा लागत (कस्ट) हेर्छौं, त्यसपछि मात्र ब्रान्डमा ध्यान दिन्छौँ। तर, नेपाली र भारतीय उपभोक्तामा एउटा फरक छ है। भारतीयहरू सस्तो खोज्छन्, तर हामी नेपालीहरू आफ्नो बजेटभित्र अलि सस्तोमध्ये पनि राम्रो र झकिझकाउ नै खोज्छौँ। हदै सस्तो मात्रै पनि हेर्दैनौँ।
उपत्यका बाहिर बजारको अवस्था कस्तो छ?
हामीले पोखरामा पनि नाडा अटो शो गरेका थियौँ र त्यहाँ राम्रो प्रतिक्रिया पायौँ। कुल बजारको ६० प्रतिशत हिस्सा उपत्यकाको छ भने बाँकी ४० प्रतिशत बाहिर छ। सुदूरपश्चिम र कर्णालीमा बजार अलि कम छ, तर अन्य प्रदेशमा भने एकदमै राम्रो छ।
साउन २६, २०८२ सोमबार ०८:४६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।