टर्कीमा शक्तिशाली भूकम्प, एक महिलाको मृत्यु, २९ घाइते

एजेन्सी : टर्कीको उत्तर-पश्चिमी प्रान्त बालिकेसिरमा आइतबार साँझ गएको ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ भने कम्तीमा २९ जना घाइते भएका छन्।
टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्दिरगी सहरमा रहेको थियो। भूकम्पपछि भत्किएको घरको भग्नावशेषबाट उद्धार गरिएकी एक ८१ वर्षीया महिलाको केही समयपछि मृत्यु भएको उनले पुष्टि गरे।
गृहमन्त्री येरलिकायाले भूकम्पका कारण १६ वटा भवन भत्किएको र २९ जना घाइते भएको जानकारी दिए।
टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार, आइतबार स्थानीय समयअनुसार साँझ ७:५३ बजे गएको भूकम्पको धक्का इस्तानबुलसम्म महसुस गरिएको थियो।
टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सबै राहत तथा उद्धार कार्यलाई नजिकबाट नियालिरहेको पनि बताए।
गृहमन्त्री येरलिकायाले राहत तथा उद्धार अभियान समाप्त भइसकेको र थप गम्भीर क्षति वा अन्य कुनै हताहतीको सङ्केत नमिलेको जानकारी दिएका छन्।
साउन २६, २०८२ सोमबार ०७:४६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।