मधेशमा खडेरीको मार : रोपाइँ ७७ प्रतिशतमा सीमित, उत्पादनमा २७ प्रतिशत गिरावटको अनुमान

जनकपुरधाम : यस वर्षको खडेरीले मधेश प्रदेशको कृषि क्षेत्रमा गम्भीर असर पारेको छ अपर्याप्त वर्षाका बाबजुद प्रदेशका आठ जिल्लामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
तर, ढिलो गरी भएको रोपाइँ र सिँचाइको अभावले धान उत्पादनमा भने करिब २७ प्रतिशतले कमी आउने अनुमान गरिएको छ।
कृषि विकास निर्देशनालयका अनुसार प्रदेशको कूल धान खेती हुने तीन लाख ७२ हजार ६४५ हेक्टर जमिनमध्ये हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको छ। सबैभन्दा बढी बारामा ९५ प्रतिशत रोपाइँ हुँदा सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशतमा सीमित भएको छ।
निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार बोरिङ र पम्पसेटजस्ता वैकल्पिक सिँचाइका माध्यमले रोपाइँको क्षेत्रफल बढाउन मद्दत पुगेको हो।
बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी तथा सर्लाही र रौतहटमा बागमती सिँचाइ आयोजनाले किसानलाई राहत दिएको छ। तर, धनुषामा कमला नदी सुक्दा किसानहरू थप मारमा परेका छन्।
यस वर्ष अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान गरिएको छ। ढिलो रोपाइँले गर्दा धानको बाला लाग्ने र बढ्ने प्रक्रियामा असर पर्ने भएकाले उत्पादनमा ठूलो गिरावट आउने निर्देशक यादवले बताए।
यसैबीच, खडेरी प्रभावित किसानलाई राहत दिन प्रदेश सरकारले घोषणा गरेको भूमिगत सिंचाइ सहयोग कार्यक्रमका लागि २२ हजार ५२ किसानले आवेदन दिएका छन्।
प्रदेश सरकारले यसका लागि १८ करोड बजेट छुट्याए पनि त्यो अपुग हुने मुख्यमन्त्री सतिशकुमार सिंहले बताए। उनले थप सहयोगका लागि सङ्घीय सरकारको निर्णय पर्खिरहेको समेत जानकारी दिए।
साउन २६, २०८२ सोमबार ०७:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।