एनपिएलको गन्जागोल : क्यानको एक वर्षको सम्झौता भएको कम्पनीसँग एनपिएलको टाइटल र पावर्डबाइ स्पन्सरको पाँच वर्षको सम्झौता !

एनपिएलको गन्जागोल : क्यानको एक वर्षको सम्झौता भएको कम्पनीसँग एनपिएलको टाइटल र पावर्डबाइ स्पन्सरको पाँच वर्षको सम्झौता !

काठमाडौं : आठ फ्रेन्चाइज टिमका सञ्चालकहरूसँग एनपिएल सञ्चालन सम्बन्धी परिषद्का प्रमुख पारस खड्काले नेपाल प्रिमियर लिगको टाइल स्पन्सर र पावर्डबाईको आम्दानी क्यानको हुने बताए पनि अन्तिममा ती सबै ब्रान्ड लजिकसँग लगेर जोडे।

जबकि सिद्धार्थ बैंक र एनसेलसँग सम्झौता ब्रान्ड लजिकका प्रतिनिधिले गरेका थिएनन्, लिग संयोजक तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले गरेका थिए। एनपिएलको व्यावसायिक अधिकार पाएको ब्रान्ड लजिकको समय पहिलो लिग मात्र थियो।

सम्झौता अनुसार उसले ५ करोड ९२ लाखमा लिगको ब्रान्डिङ्ग, मार्केटिङ, प्रसारण अधिकार पाए पनि क्यानले सिद्धार्थ बैङ्कसँग पाँच वर्षका लागि टाइटल स्पन्सर्सको सहमति गरेको थियो। यस्तोमा प्रतिस्पर्धाबाट बढी रकम कबोल्नेले पाउने भए पनि लिग सञ्चालक परिषद्ले प्रतिस्पर्धा नगराई सिद्धार्थ बैङ्कसँग सहमति गरेको थियो।

लिगको दोस्रो सिजनमा ब्रान्ड लजिकको सम्बन्ध छैन। तर सिद्धार्थ बैंक दोस्रो सिजनको पनि टाइटल स्पन्सर हो। जुन कम्पनीले एक वर्षको मात्र अधिकार पाएको थियो त्यसले कसरी कुनै टाइटल स्पन्सरसँग पाँच वर्षको सम्झौता गर्यो? बैंकले पाँच वर्षको अधिकारै नभएको कम्पनीसँग के आधारमा पाँच वर्षका लागि सम्झौता गर्यो? रोचक पक्ष यही नै छ।

सिद्धार्थ बैँक र एनसेलको विषयमा उकेराले ब्रान्ड लजिकका अध्यक्ष रोशन निरौलासँग जिज्ञासा राख्दा उनले एनपिएल लिगमा ब्रान्ड लजिक मार्फत प्रायोजक र पावरबाई गएको दाबी गरे। पहिलो सिजनका लागि मात्र सम्झौता भएको र दोस्रो सिजनमा उनीहरू कसरी जोडिए थाहा नभएको उनको तर्क छ।

उनले भने ‘हाम्रो र क्यानको एनपिएल अवधिभरिको सम्झौता भएको हो। जसमा हामी मार्फत सिद्धार्थ बैँक र एनसेलसँग सम्झौता भएको हो। अब अहिले क्यानसँग सट्टा भएको भए मलाई थाहा भएन। अब खुल्ने ठेक्कामा हामी पनि प्रक्रियामा जान्छौँ।’

क्यानले दोस्रो सिजनका लागि न सिद्धार्थ बैंक न त एनसेलसँग सम्झौता गरेको छ। तर टाइटल र पावर्डबाइ उनीहरू नै हुने देखिन्छ। के आधारमा?

क्यान अध्यक्ष चतुरबहादुर चन्दले अब ठेक्का प्रक्रियामा जाँदा जुन कम्पनीले रणनीतिक र व्यावसायिक अधिकार पाउँछ उसै मार्फत सिद्धार्थ बैँक र एनसेल आउने दाबी गरे। तर कानुनी आधार खुलाउन सकेनन्।

‘एग्रीमेन्ट अनुसार ५ वर्षसम्म जो कमर्सियल पार्टनर हुन्छ उसकोमाध्यमबाट आउँछ भन्ने जानकारी छ मलाई’ उनले भने।

चन्दको भनाई अनुसार अब दोस्रो सिजनमा कमर्सियल पार्टनरमा जुन कम्पनी छानिन्छ उ मार्फत प्रायोजक र पावरबाई आउने हो। तर कानुनी रूपमा यो कसरी वैध हुन्छ उनले खुलाउन सकेनन्। जसले पहिलो सिजनमा सिद्धार्थ बैंक र एनसेलसँग सम्झौता गरेको हो उसको क्यानसँगको सम्झौता अवधि एक वर्षको हो। एक वर्षको अधिकार पाएको कम्पनीले पाँच वर्षको सम्झौता गर्नु कानुनी रूपमा वैध हैन। यसबारे क्यानसँग लटरपटर बाहेक कानुनी तर्क छैन। यसले पहिलो सिजनमा यी दुवै कम्पनीसँग पारसले नै सम्झौता गरेको देखिन्छ। जब यी दुवैसँगको सम्झौता सार्वजनिक गर्नुपर्ने भयो अनि सबै ब्रान्ड लजिकको हो भनेर पन्छाइएको देखिन्छ।

सिद्धार्थ बैङ्कसँगको सम्झौता सार्वजनिक गर्न आयोजित कार्यक्रमको संरचनाले पनि सहमति ब्रान्ड लजिकसँग हैन क्यानसँग भएको देखिएको थियो। सम्झौता हुँदा मञ्चमा क्यानबाट लिग संयोजक पारस र बैंकका प्रतिनिधि थिए। उनीहरूले नै हस्ताक्षर गरे। त्यो बेलामा ब्रान्ड लजिकका अध्यक्ष रोशन निरौला दर्शक दीर्घामा थिए। जुन कम्पनीबिच सहमति हुने हो त्यसका प्रतिनिधि दर्शकदिर्घामा रहनुबाटै टाइटल स्पन्सरको सम्झौता केसँग भएको थियो भन्ने खुलाउँछ नै।

एनपिएलको फेसबुक पेजमा सिद्धार्थ बैंकका प्रतिनिधि र पारसले टाइटल स्पन्सरबारे सम्झौता गरिरहेको तस्बिर समेत राखिएको थियो। तर अहिले त्यो फोटो भेटिँदैन।

सार्वजनिक खरिद कानुन अनुसार कुनै पनि कम्पनी ठेक्का प्रक्रियामा जानको लागि १ महिनाअघि नै बोलकबोलको लागि सार्वजनिक सूचना निकाल्नु पर्ने कानुनी प्रावधान छ। तर क्यानले दोस्रो सिजनको लागि टाइटल र पावर्डबाई स्पन्सर आएको सिद्धार्थ बैँक र एनसेल ठेक्का प्रक्रियाबाट आएको देखिएन। यस विषयमा क्यानको सामाजिक सञ्चाल फेसबुकको अफिसियल पेजमा समेत कुनै सूचना देखिएन।

विश्वस्तस्रोतका अनुसार सचिव पारस खड्काले भने अहिले पनि अनौपचारिक रूपमा एनपिएलको दोस्रो सिजनको कामहरू ब्रान्ड लजिकमार्फत नै गरिरहेको छ। पहिलो सिजनमा जुन प्रक्रियाबाट ब्रान्ड लजिक छानिएको हो त्यसमा गलत ठेक्का प्रक्रिया भएकोबारे राष्ट्रिय खेलकुद परिषद्को छानबिन समितिले छानबिन गरेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगिसकेको छ।

पारसले दिन सकेनन् बोर्ड बैँठकमा जवाफ

गत साउन १६ गते क्यानले ७ महिनापछि बोर्ड बैठक आव्हान गरेको थियो। जसमा बोर्ड सदस्य र फेन्चाइज टिमका लगानीकर्ता समेत सामेल थिए। उक्त बैठकमा समेत सिद्धार्थ बैँक र एनसेलसँग सम्बन्धित प्रश्न उठेको थियो। तर बैठकमा क्यान सचिव पारसले प्रस्ट जवाफ दिनै सकेनन्।

‘एक वर्ष आयु भएको कम्पनीले ५ वर्षसम्म कसरी एग्रीमेन्ट गर्छ भन्ने विषय बैठकमा उठाएका थियौँ.  यो प्रकृयागत रुपमा भएन भन्ने कुरा गरेका छौँ। त्यसमा क्यान साक्षी बसेको छ भनेर भन्नु भयो,’ बैठकमा सहभागी स्रोतले उकेरासँग भन्यो  ‘क्यान त सबैको साक्षी हो। उसले कुनै एक कम्पनीको मात्र किन साक्षी बस्नु पर्यो? यसबारे प्रश्न गरेका छौँ। तर जवाफ आएको छैन।’

बैँठकमा बोर्ड सदस्यहरुले क्यानको खर्च विवरणमा समेत आपत्ति जनाएपछि बैठकले अनुमोदन समेत गरेन। उकेराले गरेको खोजमा समेत एनपिएल पहिलो सिजनको आम्दानी खर्चमा धेरै बदमासीहरु देखिएपछि प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

बोर्ड सदस्यहरूले एनपिएल सञ्चालक समितिका संयोजक पारस खड्कासँग खर्च विवरण माग गर्दा एनपिएलमा आएका कम्पनीहरूसँगको सम्झौता पत्र समेत माग गरेका थिए। एनपिएल सञ्चालक समितिले गन्जागोल खर्च विवरण देखाए पनि हालसम्म कम्पनीहरूसँगको सम्झौता पत्र देखाएको छैन। पहिलो लिगको आम्दानी र खर्च अनुमोदनै नभई लिगको दोस्रो सिजनका लागि खेलाडीको अक्सनसम्म भइसकेको छ।

 शंकाको केन्द्रमा पारस

एनपिएल परिचालन परिषद्का संयोजक पारस खड्काले प्रारम्भमा टिसिएमदेखि स्टार स्पोर्ट्ससम्मलाई एनपिएलमा आफूले ल्याएको दाबी गर्ने गरेका थिए। तर जब विवाद भयो उनले सबै जिम्मेवारी कमर्शियल राइट्स पाएको ब्रान्ड लजिकलाई जिम्मा लगाए। तर क्यान बोर्ड बैठकमा पेस गरेको विवरणमा टिसिएम र स्टार स्पोर्ट्स दुबैमाथि भएको खर्च  उल्लेख छैन।

पहिलो सिजनमा सिद्धार्थ बैंक टाइटल स्पन्सर र एनसेल पावर्ड बाई बनेका थिए। यी दुवै कम्पनीसँगको सम्झौता कार्यक्रममा क्यानका सचिव पारसले नेतृत्व गरेका थिए। उनीहरूसँग कतिमा सम्झौता भएको खुलाइएको छैन।

आठ फ्रेन्चाइज टिमका सञ्चालकहरूसँगको बैठकमा पारसले यी दुवैको आर्थिक अधिकार क्यानसँग रहेको र त्यस बापत आउने रकम टिममा बाँडफाँड हुने बताएको एक फ्रेन्चाइज टिमका प्रमुखले उकेरालाई बताएका थिए।

तर क्यान बोर्ड बैठकमा पारसले पेस गरेको आम्दानीको विवरणमा न सिद्धार्थ बैंकले दिएको रकम उल्लेख छ न त एनसेलले दिएको रकमै उल्लेख छ।एनपिएलको समयमा २० भन्दा बढी स्पन्सर्डहरु रहेको र तीमध्ये कुन कुन ब्रान्ड लजिकले ल्याएको हो र कुन क्यानको हो सो समेत खुलाएका छैनन्। तर सिद्धार्थ बैँक र एनसिएल भने ब्रान्ड लजिक हुँदै एनपिएलमा आएको देखियो। 

एनपीएलबारे उकेराको श्रृंखला:

साउन २५, २०८२ आइतबार २२:२८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।