२ करोड रकम अपचलन गरेर ‘वान एक्स बेट’मा लगाइएको खुलेपछि पक्राउ परे महालक्ष्मी बैंकका कर्मचारी

२ करोड रकम अपचलन गरेर ‘वान एक्स बेट’मा लगाइएको खुलेपछि पक्राउ परे महालक्ष्मी बैंकका कर्मचारी
ai image

खलङ्गा : दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारीहरू ठूलो रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार बैंकको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरी अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानले चारै कर्मचारीको मिलेमतोमा रु २ करोड ८४ लाख ७६ हजार ७ सय अपचलन भएको पाइएको छ। उक्त रकम बैंकको मूल खातामा देखाइएका भल्ट रकमको सहायताले गैरकानुनी रूपमा हिनामिना गरिएको थियो।

बैंकको पैसा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म ‘वान एक्स बेट’मा लगाइएको पनि खुलेको छ।

रकम अपचलन भएको पुष्टि भएपछि बैंकको केन्द्रीय कार्यालयबाट टोली गोकुलेश्वर पुगेको थियो र चारै जनालाई निलम्बन गरिएको छ। बैंकले हाल हेमराज जोशीलाई नयाँ शाखा प्रबन्धक नियुक्त गरी शाखाको कामकाज निरन्तरता दिएको छ।

प्रहरीका अनुसार बैंकिङ कसुरमा उनीहरूमाथि थप अनुसन्धान जारी छ।

साउन २५, २०८२ आइतबार २१:५८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।