रुसी आक्रमणमा युक्रेनमा पाँचको मृत्यु, युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा क्षति

एजेन्सी : युक्रेनमा रुसी आक्रमणमा पाँच सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनी सेनाले रसियाको साराटोभस्थित ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरी क्षति पुर्याएको दाबी गरेको छ।
युक्रेनी राष्ट्रिय प्रहरीका अनुसार जापोरिझ्झिया क्षेत्रमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् भने पूर्वी डोनेत्स्क क्षेत्रमा थप दुई सर्वसाधारणको ज्यान गएको छ।
यसैगरी, कालो सागरको ओडेसा शहर नजिक प्रतिबन्धित क्षेत्रमा पौडी खेल्दा सुरुङ विस्फोट भएर तीन जनाको मृत्यु भएको छ। उक्त क्षेत्रमा रुसी समुद्री आक्रमण रोक्न बारुदी सुरुङ बिछ्याइएको थियो।
साराटोभ क्षेत्रका गभर्नर रोमन बुसार्गिनले युक्रेनी ड्रोन आक्रमणमा एक औद्योगिक संरचना क्षतिग्रस्त भएको र एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
रुसको बेलगोरोद सीमावर्ती क्षेत्रमा भएको युक्रेनी आक्रमणमा एक महिलाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। यो क्षेत्र युक्रेनी हमलाको जोखिममा रहने क्षेत्रमा पर्छ।
युक्रेनी सेनाले रुसको तेल र ग्यास पूर्वाधारलाई निशाना बनाएर युद्धको आर्थिक स्रोत कमजोर बनाउन रणनीति अघि बढाइरहेको छ। साथै, सुमी क्षेत्रमा पर्ने बेजसालिभ्का गाउँ पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दैछ। तर रुसले पूर्वी युक्रेनमा केही सफलताहरू पनि हासिल गरेको छ।
युद्धको बीचमा संयुक्त राज्य अमेरिका र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अमेरिकाको अलास्का राज्यमा शिखर वार्ता तय भएको छ। तर युक्रेन र युरोपेली मुलुकहरूले यस्ता वार्तामा युक्रेनलाई समावेश नगरी समाधान खोज्नु अनुचित भएको बताएका छन्।
साउन २५, २०८२ आइतबार २१:४६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।