
सडकमै केराको बोट रोपेर विरोध

भक्तपुर : अरनिको राजमार्गको वैकल्पिक मार्ग मानिने ‘च्यामासिंह-ताथली-नाला’ सडकको जीर्ण अवस्थाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले सडकमै केराको बोट रोपेर अनौठो ढंगले विरोध प्रदर्शन गरेका छन्।
बनेपा-नाला हुँदै ताथली र च्यामासिंह जोड्ने यो सडकको मर्मत र स्तरोन्नतिमा कसैले ध्यान नदिएको भन्दै स्थानीय दक्षिणकाली युवा समूहले सडक छिटो सुधार गर्न माग गरेका हुन्। उनीहरूले हस्ताक्षर संकलन अभियानसँगै रामसीता मन्दिर क्षेत्रको सडकमा ब्यानर टाँसी विरोध प्रदर्शन गरेका छन्।
समूहका अध्यक्ष सुरेशराज गिरीका अनुसार, नगरपालिकाले रामसीता मन्दिर नजिक ढलान सुरु गरे पनि अधुरो छोड्दा सडक अझै जोखिमपूर्ण बनेको छ। स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेकाले सांकेतिक रूपमा केराको बोट रोपेर सन्देश दिनुपरेको उनले बताए।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-जगाती-साँगा-धुलिखेल खण्ड अहिले छ लेनमा विस्तार भइरहेको हुँदा वैकल्पिक मार्गको रूपमा ‘च्यामासिंह-ताथली-नाला’ सडकमा दैनिक हजारौँ सवारीसाधनको चाप बढेको छ। तर, ताथलीको भञ्याङमा सडक खस्नै लाग्ने अवस्था, रामसीता मन्दिर क्षेत्रको अधुरो ढलान, र जीर्ण भागका कारण दुर्घटना तथा जामको जोखिम उच्च रहेको गिरीको भनाइ छ।
उनका अनुसार ब्रम्हायानी चोक, तिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापलगायतका बस्ती बढी प्रभावित छन्।
उक्त सडकको शिलान्यास तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा गरेका थिए र त्यसपछि यसलाई ‘गणेशमान मार्ग’ नामकरण गरिएको हो।
साउन २५, २०८२ आइतबार २१:३६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।