
कैलाली कारागारको ‘ए’ र ‘बी’ ब्लकका कैदीबन्दीको अवस्था बुझियो

सुदूरपश्चिम : कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण अवस्था सामान्य बन्दै गएको छ। गत शुक्रबार राति भएको घटनामा एक कैदीको मृत्यु र ४७ जना घाइते भएका थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार घटनाको पुनरावृत्ति रोक्न कडा सुरक्षा व्यवस्था गरिएको छ। छानबिन समितिका सदस्य सचिव तथा प्रशासकीय अधिकृत शिवराज जोशीले अवस्था सामान्य तर्फ फर्किरहेको र स्थानीय प्रशासनले आवश्यक सुरक्षा पूर्वाधार मिलाइसकेको जानकारी दिए।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा शनिबार कारागारका प्रहरी र कर्मचारीहरूले कैदीबन्दीहरूको अवस्था र सङ्ख्या यकिन गरेका छन्। आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रकाशदत्त भट्टका अनुसार, ‘ए’ ब्लक र ‘बि’ ब्लकमा रहेका कैदीबन्दीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिइएको छ। उनले कैदी स्थानान्तरण गर्दा परिवारलाई जानकारी नदिने, क्षमताभन्दा बढी कैदी राख्ने, प्राविधिक चेकजाँच उपकरणको अभाव, र दरबन्दीअनुसार जनशक्ति नहुँदा समस्या बढेको बताए।
आयोगले साउन १९ गते नै सरकारको ध्यानाकर्षण गराए पनि समयमै कदम नचालिएकाले समस्या चर्किएको जनाइएको छ।
घटनामा गम्भीर घाइते भएका धनगढी-४ का ३६ वर्षीय भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। दुई जना अझै सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा छन् भने अर्का एक जनालाई काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरू सेती प्रादेशिक अस्पतालमै उपचाररत छन्। मृतकको परिवारले शव बुझ्न अस्वीकार गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
कैलाली कारागारमा बिहीबार पनि झडप भएको थियो भने असार २८ गते यस्तै घटना घटेको थियो। घटनापछि बन्दीगृहमा प्रवेशमा रोक लगाइए पनि शनिबार आयोगको टोलीसहित सुरक्षाकर्मीलाई प्रवेश दिन अनुमति दिइएको छ।
घटनापछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरूसँग घटनाबारे छलफल गरिरहेका छन्।
साउन २५, २०८२ आइतबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।