
८ औं संस्करणको ‘हिमालयन आर्ट फेस्टिवल’ काठमाडौंमा जारी

काठमाडौं : ई-आर्ट्स नेपालद्वारा आयोजित ८ औं संस्करणको हिमालयन आर्ट फेस्टिवल २०२५ काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छ।
सप्ताहव्यापी यस महोत्सवको उद्घाटन ‘शार्क ट्याङ्क नेपाल’ का पाँचै शार्क-अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, आईएमी ग्रुपका सह–संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतीले शुक्रबार संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन समारोहमा वरिष्ठ कलाकार तथा डिजाइनर श्यामदास अशान्तलाई सम्मान गरिएको थियो। साथै, दिवंगत कलाकार प्रशान्त श्रेष्ठको स्मृतिमा स्थापना गरिएको प्रशान्त स्कलरशिप अवार्ड २०२५ पनि प्रदान गरिएको थियो। सन् २००३ देखि दिइँदै आएको यो छात्रवृत्ति नवयुवा कलाकारहरूको प्रोत्साहन र विकासमा केन्द्रित छ, जसअन्तर्गत फाइन आर्ट्स कलेज, सिर्जना कलेज अफ फाइन आर्ट्स र काठमाडौं विश्वविद्यालयका कला विभागका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरिन्छ।
यस वर्षको फेस्टिवलमा १४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन्। महोत्सव साउन २९ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवले नेपाली कर्पोरेट क्षेत्रलाई कलामा लगानी गर्न प्रेरित गर्ने मात्र नभई, कला प्रेमी र स्थानीय संग्राहकलाई प्रत्यक्ष रूपमा कला अभ्याससँग जोड्ने एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्ने आयोजक कलाकार आशा डंगोलले बताए।
साउन २५, २०८२ आइतबार २०:५७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।