नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

काठमाडौं : नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ। 

आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिका रूपमा उद्घाटन गर्न औपचारिक अनुरोध गरेको थियो। 

प्रधानमन्त्री ओलीले नाडाको अनुरोध स्वीकार गरेको नाडाले विज्ञप्तीमार्फत जानकारी दिएको छ। प्रधानमन्त्रीको उपस्थितिले  अटोमोबाइल व्यवसायीहरूमा थप हौसला र प्रेरणा दिने नाडाको भनाइ छ।

अध्यक्ष चौधरीले यस वर्ष नाडा स्थापनाको ५०औं वार्षिकोत्सव भएको र यस अवसरमा आयोजना हुने अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, भिन्टेज मोटर शो, र पहिलोपटक नेपालमा प्रदर्शित हुन लागेका अत्याधुनिक रोबोटसहित भविष्यमुखी प्रविधिहरू मुख्य आकर्षण रहने जानकारी दिए। 

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको उपस्थिति रहेको थियो।

साउन २५, २०८२ आइतबार २०:४६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।