झलनाथलाई भेट्न डल्लु पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल

झलनाथलाई भेट्न डल्लु पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच डल्लुस्थित झलनाथ निवासमा भेटवार्ता भएको छ।

डेढ घण्टाभन्दा लामो समय चलेको भेटघाटमा विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट र समाजवादी आन्दोलन, साथै वर्ग बनोट र वर्ग संघर्षका विविध आयामहरूमा व्यापक छलफल भएको बताइएको छ।

नेपाली राष्ट्रिय अवस्था, कम्युनिस्ट र वामपन्थी शक्तिहरू, देशभक्त राजनीतिक दलहरू तथा अन्य राजनीतिक पक्षहरूको विश्लेषण गर्दै क्रान्तिकारीहरूको राष्ट्रिय जिम्मेवारीमा गहिरो विमर्श पनि गरिएको बताइएको छ।

श्रेष्ठले आफ्नो पार्टी स्थायी कमिटीबाट प्रस्तुत गरिएको एकता प्रस्तावबारे जानकारी गराउँदै सहकार्यका लागि अपिल गरेका थिए भने खनालले वामपन्थी र कम्युनिस्ट दलहरूबीच एकता र सहकार्यमा आफ्नो सकारात्मक दृष्टिकोण स्पष्ट पारे।

भेटवार्तामा नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनको संरक्षण गर्दै समृद्ध नेपाल निर्माण र वैज्ञानिक समाजवादको स्थापना तर्फ अगाडि बढ्न कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकतामा विशेष जोड दिइएको छ।

यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अघि बढ्नु आवश्यक रहेको विषयमा समेत गम्भीर छलफल भएको जनाइएको छ।

साउन २५, २०८२ आइतबार १७:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।