
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने खेलकुद मन्त्री चौधरीको दाबी

पाँचथर : युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन्।
प्रतियोगिता सञ्चालनका लागि सबै सरोकारवालासँग छलफल भइरहेकाले अब थप परिवर्तन नगरी मिति तय गरिने उनले स्पष्ट पारे।
आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा आयोजना हुने उक्त प्रतियोगिताको जिम्मेवारी कर्णाली प्रदेश सरकारको भएकाले मुख्यमन्त्रीसहित सबै सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूको पनि चासो रहेकाले चाँडै निश्चित मिति घोषणा हुनेछ,’ उनले भने।
त्यसैगरी, मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको वित्तीय, प्राविधिक र व्यवस्थापकीय पक्षको छानबिनका लागि समिति गठन गरिने पनि जानकारी दिए। ‘प्रतियोगिता सञ्चालन गर्दा कानुनको पालना गर्न सबै पक्षलाई आग्रह गर्दै आएका छौं,’ उनले भने, ‘नियमनको जिम्मेवारी मन्त्रालयकै भएकोले कानुन अनुसार एनपीएल सफल बनाउन सहयोग गरिनेछ।’
मन्त्री चौधरीले खेलकुद संरचना निर्माणमा जग्गा अभाव रहेको र उपलब्ध जग्गामा पनि बजेट कम परेको अवस्था रहेको बताए।
युवा तथा खेलकुद मन्त्रालयले प्रदेश र स्थानीय तहमा खेलकुद कर्मचारी पठाउने तयारी गरिरहेको र त्यसका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भदौभित्र सक्ने मन्त्री चौधरीले जानकारी दिए।
अलपत्र अवस्थामा रहेको फिदिम रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गर्नुभयो। बहुवर्षीय ठेक्कामा नपरेर बजेट अभाव भइरहेको फिदिम रङ्गशालालाई यस आर्थिक वर्षदेखि बजेट अभाव हुन नदिने र बहुवर्षीय ठेक्कामा रुपान्तरण गर्ने योजना रहेको छ।
रु १० करोड ६३ लाख ७५ हजार लागतमा पिएस-किरातेश्वर-मैनाचुली जेभीले फिदिम रङ्गशाला निर्माणको ठेक्का पाएको थियो। विसं २०७७ फागुनमा सुरु गरिएको यो खेलमैदान २०७९ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म जम्मा ३१.७५ प्रतिशत मात्रै भौतिक प्रगति भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
साउन २५, २०८२ आइतबार १७:००:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।