
सिइओ शान्तिको प्रसव पीडा र खुसी: त्यसबेला त गर्भवती भएको थाहा पाउँदा आफैंलाई लाज लागेको थियो

नुप्से क्राफ्ट्स आज नेपालमा फेल्ट (भेँडाको ऊन) र पोतेका सामग्री उत्पादन गर्ने अग्रणी कम्पनीका रूपमा परिचित छ। यही क्राफ्ट्सकी सिइओ हुन् शान्ति श्रेष्ठ।
फेल्ट उत्पादनमा उनको दुई दशकभन्दा बढीको अनुभव छ। अहिले उनले १२५ जनालाई रोजगारी दिइरहेकी छन्।
पाँच वर्षयता उनकी जेठी छोरीले पनि यो उद्यममा आमालाई साथ दिइरहेकी छिन्। न्युजिल्यान्डबाट आयात गरिएको ऊनबाट तयार हुने सबै उत्पादन युरोपका विभिन्न मुलुकमा निर्यात हुने गर्छ। उनका अनुसार नेपालमा फेल्ट उद्योगका साना र ठूला गरी करिब दुई सय कम्पनी दर्ता छन्।
पशुपतिनाथ मन्दिरको राजभण्डारी परिवारमा जन्मिएकी शान्तिको बाल्यकाल धार्मिक वातावरणमा बित्यो। राजभण्डारी पुजारीको परम्परा बाहेक उनका बुबाले केही समय गार्मेन्ट व्यवसाय पनि चलाए। त्यसैको प्रभावले उनी उद्यमतर्फ आकर्षित भइन्। हस्तकला महासंघले आयोजना गर्ने विभिन्न तालिममा सहभागी हुँदै जाँदा उनको रुचि फेल्टमा ठोक्किन पुग्यो।
घरकी जेठी सन्तान शान्तिले राम्रो शैक्षिक वातावरणमा पढ्ने मौका पाइन्। पढाइ र विवाह हुँदै दुई सन्तान भएपछि मात्र उनले पूर्ण रूपमा उद्यममा समय दिन थालिन्। उनै शान्तिले ‘प्रसव पीडा र खुसी’ शीर्षकको उकेरा साप्ताहिक स्तम्भमा आफ्नो मातृत्व अनुभव साटेकी छिन् :
०००
२२/२३ वर्षको उमेर हुँदा नै विवाह गर्नु पर्छ है भन्ने कुरा त आइरहन्थ्यो। स्नातक पढ्दै गर्दा मेरो मागी विवाह भयो। छोरी भइरहेको मान्छे बुहारी हुनु नै धेरै ठूलो परिवर्तन हुने रहेछ। त्यसमाथि म एकल परिवारमा हुर्किएको छोरी संयुक्त परिवारको बुहारी हुँदा सुरुमा अप्ठ्यारो नै भएको थियो।
त्यसबेला त बुहारीले घरमा बस्दा सधैं साडी नै लगाउने चलन थियो। ‘एडजस्ट’ हुनुपर्दा अलि असहज त हुने नै रहेछ। त्यो बेलाको समय र अहिलेको समय त फेरि आकाश-जमिनको फरक छ। हाम्रा दुई छोरी छन्। छोरीहरू हुर्किँदै गएपछि मैले आफ्नो व्यवसाय सुरु गरेको हुँ।
विवाह भएको अर्को वर्ष नै हाम्रो पहिलो सन्तान भयो। पूर्वतयारी बिनै गर्भ रह्यो। घरमा त खुसीको माहोल भएको थियो। अहिले जस्तो होइन, त्यसबेला त गर्भवती भएको थाहा पाउँदा आफैंलाई लाज लागेको थियो। परिवारमा त खुलेर कुरा गर्ने चलन नै थिएन।
त्यतिबेला मैले बाहिर कुनै पनि काम सुरू गरेकी थिइनँ। घरकै काममा दिनहरू बितिरहेका थिए। त्यही भएर आफैँलाई समय दिनचाहिँ पाएँ। फेरि त्यति विशेष पनि केही भएको होइन। सबै साधारण तरिकाले नै अगाडि बढ्दै गयो।
वान्ता आउने, कमजोरी हुने जस्तो केही पनि भएको मलाई याद छैन। तौल बढे पनि हात-खुट्टा सुन्निने जस्तो शारीरिक रूपमा अप्ठ्यारो धेरै भएन। सायद घरको काममा धेरै नै सक्रिय भएकै कारण सबै राम्रोसँग हुँदै गयो होला।
मनोसामाजिक रूपमा पनि म खुसी थिएँ। अब आमा हुने भइयो भन्ने लाग्दा अर्कै खालको उत्साह पनि थियो। घरमा सबैको छोरी भइरहेका थिए। हाम्रो चाहिँ छोरा होस् भन्ने कुरा पनि आएको थियो। तर हाम्रो पनि छोरी नै भइन्।
नौ महिना भएपछि पेट दुखेको जस्तो भयो। डाक्टरले दिएको समय पनि भइसकेको कारण हामी ढिला नगरी अस्पताल गयौं। प्रसूति गृह, थापाथलीमा गएका थियौं। त्यहाँको सिस्टरहरूको दुर्व्यवहारले दिक्क लाग्यो। दुई दिनसम्म प्रसव पीडा लाग्यो। अस्पतालमा बस्न पर्दा त ‘टर्चर’ नै महसुस भएको थियो। कतिबेला घर फर्किउँ जस्तो भएको थियो।
अनि प्राकृतिक रूपमा मैले छोरीलाई जन्म दिएँ। नानीको तौल एकदम राम्रो थियो। सबैजना खुसी हुनुभयो। सुरुमा स्तनपान गर्न पनि जानिनँ, त्यहीँ सिकाउने रहेछन्। पाँच दिनपछि हामी अस्पतालबाट घर फर्कियौं। १०/१५ दिन घरमा बसेपछि माइती गएँ। सुत्केरी स्याहार पनि राम्रो पाइयो।
सुत्केरी स्याहार भनेको चाहिँ घरमा भन्दा माइतीमा राम्रो जस्तो मैले अनुभव गरें। घिउँचाकु खाने चलन छ हाम्रो। टन्न खाएँ। अनि अर्को सात वर्षपछि हाम्रो दोस्रो सन्तान भयो। पहिलो सन्तान हुर्किँदै गएपछि दोस्रो सन्तान पनि चाहिन्छ, उसकै लागि साथी हुन्छ भन्ने जस्ता कुरा आउँथे। हामीलाई पनि नानीकै लागि भए पनि चाहिने रहेछ भन्ने भयो।
दोस्रो सन्तान चाहिँ हामीले योजना बनाएर, तयारी गरेर नै जन्माएका हौं। आफ्नै अनुभव, परिपक्वता र योजनाका कारण पनि तुलनात्मक रूपमा मैले दोस्रो सन्तानको समयमा थप सहज महसुस गरें। ठूली छोरी स्कुल जान थालेपछि मैले तालिमहरूमा भाग लिन थालेकी हुँ। त्यसले गर्दा मलाई उद्यम क्षेत्रमा जोडिन धेरै मद्दत गर्यो।
दोस्रो सन्तान हुने समयमा पनि सबैले छोरा नै होस् भन्ने चाहना राखेका थिए। प्रसूति गृहमा नराम्रो अनुभव भएकै कारण दोस्रोमा हामी त्रिवि शिक्षण अस्पताल गयौं। थापाथलीभन्दा त्यो सफा र राम्रो लाग्यो मलाई। दोस्रो सन्तान पनि छोरी भयो।
दुवै सन्तानबीच धेरै उमेर अन्तर हुँदा सुरुमा त बहिनी सँग दिदीले ‘जेलस फील’ गरेको हो कि जस्तो हुन्थ्यो। तर उनीहरू पछि निकै मिल्न थाले। झगडा पनि गर्ने, माया पनि गर्ने। बहिनी भएपछि दिदीलाई पनि राम्रो भएको हामीले पायौं।
ठूली छोरीको विवाह भइसकेको छ र भर्खर नाती भएको छ। अहिले उनी मेरो काममा साथ दिन्छिन्। उ हाम्रो कम्पनीकी एमडी हो। अनि सानी छोरी वकिल भएकी छे। विवाह भएर दुई सन्तान भएपछि मेरो उद्यमको गति बढेको हो। अहिले पछाडि फर्केर हेर्न परेको छैन। समय व्यवस्थापन गर्न सक्ने हो भने हामीले जुनसुकै समयमा पनि आफ्नो करियर अगाडि बढाउन सक्ने रहेछ।
आमा हुनु भनेको मेरो लागि निकै विशेष पल हो। छोरी हुनु, श्रीमती हुनु अनि बुहारी हुनु भन्दा आमा हुँदा अर्कै किसिमको रमाइलो महसुस गरें। त्यसैले पनि आमा हुनु भनेको सर्वश्रेष्ठ हुनु हो भन्ने गरिएको होला जस्तो लाग्छ। आमा भएपछि आकाश र जमिनको फरक पाएँ आफ्नै काम गराइहरूमा समेत।
आफ्नो सन्तान सानो हुँदा र बुढो हुँदा समेत आमाको लागि माया त उही नै हुने रहेछ। आमा भएपछि आफूभन्दा अगाडि आफ्नो बच्चालाई खुसी राख्ने तयारी हुने रहेछ। त्यसैले पनि आमा हुनु भनेको मेरो लागि त आफैंमा सबै थोक हुनु हो जस्तो लाग्छ।
साउन २५, २०८२ आइतबार १६:४२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।